• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी–२ का उम्मेदवार उमेश भन्छन् :-  प्राथमिकतामा अधुरा विकास कार्यको पूर्णता 

सप्तरी–२ का उम्मेदवार उमेश भन्छन् :-  प्राथमिकतामा अधुरा विकास कार्यको पूर्णता 
न्यूज टुडे
राजविराज,१५ माघ ।
 जनता समाजवादी पार्टी नेपालका नेता एवम् सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उमेश कुमार यादवले सप्तरीमा संचालन रहेको राष्ट्रिय गौरवका योजनालाई प्राथमिकताका साथ पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।घरदैलोको क्रममा विहिवार यादव सँग मतदाताले विकास निर्माणका अधुरा कार्यहरु पुरा गर्ने बाचा गर्न आग्रह गरेपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
घरदैलौका क्रममा तिलाठी कोइलाडी गाउँपालिकाको बर्साइन, तोपा र बभनगामा गाउँका मतदाताले जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सप्तरीको कायापलट हुनेगरी अगाडि बढाएका योजनाहरुको पूर्णताका लागि बाचा गर्न माग गरे। उपेन्द्र यादव २०७४ मा सप्तरी २ बाट निर्वाचित हुँदा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालन, ५० शैय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा ४२० शैय्याको भौतिक पूर्वाधार निर्माण, महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इन्जिनियरिङ्ग भवन निर्माण, अस्पताल परिसरमा नर्सिङ्ग भवन, विद्यालयहरुमा शैक्षिक भवन, रुपनी–राजविराज सडक, राजविराज–छिन्नमस्ता–न्यौर सडक, राजविराज–हनुमाननगर–भारदह सडक निर्माण, पालिकाहरुलाई एम्बुलेन्स लगायतका कामहरु अगाडि बढाएका थिए ।
जसपा अध्यक्ष यादवले अगाडि बढाएका कार्यहरु अझैँ पूर्णता पाउन समस्या रहेको भन्दै मतदाताले उक्त कार्यहरु पुरा गराउने बाचा गराएका छन् । उनीहरुले यसका साथै चुनाव जितेर गएपछि जनतासँग भेट्न नआएको, वर्षेनी बाढीका कारण डुबानको पीडा झेल्नुपरेको, समयमा मलखाद उपलब्ध नभएको, बेरोजगारी तथा खस्किदो शैक्षिक अवस्था सुधारका साथै जीवनस्तरमा परिवर्तन ल्याउने नीति निर्माणका कामहरु यस अघि नभएको भनी उम्मेदवार उमेश यादवसँग गुनासो गरेका छन् ।
आफुले विगतमा जनप्रतिनिधि भई केही समय सिचाइँमन्त्री रहँदा बेला सिचाइँ, नदी नियन्त्रण, झोलुवाइ  पुल, सडक तथा पोखरी निर्माण लगायतका कार्यहरु गरेको उनले स्मरण गराए । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले अगाडि बढाएका कार्यहरुलाई पूर्णता दिने उम्मेदवार यादवले प्रतिवद्धता व्यक्त गरे ।
मधेश आन्दोलनकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको तथा अझैं पनि संस्थागत र स्थायीत्व प्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आफुसहित जसपा नेपालका उम्मेदवारहरु चुन्न समेत आह्वान गरे ।
 उनले सङ्घीयता र मधेश विरोधीहरु मधेशलाई फेरी गुलाम बनाउने दाउमा रहेकोले त्यस्ता जनविरोधी सोचलाई परास्त गर्न आग्रह गरे । 
  ‘भदौ २४ मा निर्दोष युवाहरुको रगतमा टेकेर देशलाई नै हाइज्याक गर्न खोजिदैछ, युवाहरुको त्यो आन्दोलन कसैलाई प्रधानमन्त्री बनाउनका लागि भएको थिएन’उनले भने, ‘त्यसैले सबै मिलेर देशलाई बचाउनु जरुरी छ ।’
उनले संघीयता सहितको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा थप अधिकार सुनिश्चितताको लागि जसपा नेपालको नेतृत्वमा सरकार हुनुपर्नेमा जोड दिए ।