न्यूज टुडे
राजविराज,१५ माघ ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उज्यालो नेपाल पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्ख नारायण चौधरीले चुनावी भेटघाटलाई तीब्रता दिएका छन् । उज्यालो नेपालका नायक कुलमान घिसिङ नेतृत्वका पार्टीबाट उम्मेदवारी दिएका चौधरीले मतदाता, नागरिक अगुवासंगको भेटघाटलाई तीब्रता दिएका हुन्।

देशको दशा र दिशा बदल्ने अठोट लिएर उम्मेदवारी दिएको भन्दै चौधरी मतदाता रिजाउन सक्रिय देखिएका छन् । जेनजी आन्दोलनको मुद्दा स्थापित गर्ने र देशमा देखिएको तमाम समस्या समाधान उज्यालो पार्टी नेपालले गर्ने भन्दै उनले राष्ट्रिय एकतालाई थप मजबुत गराउन पनि आफ्नो पार्टीको नेतृत्वको सरकार अपरिहार्य रहेको जिकिर गरे ।
देश बदल्न कुशल सेवकले मात्र सक्ने भन्दै उनले पुराना नेता तथा राजनीतिक पार्टी र नयाँ भनाउँदा दिशाहीनहरु दुबैबाट राष्ट्रले मुक्ति नपाउने देखेर उज्यालो नेपाल पार्टी स्थापना गरि चुनावमा होमिएको बताए ।
उनले अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका सामाजिक अगुवाहरुलाई भेटेर सहयोगको लागि आग्रह समेत गरे । सामाजिक अभियानता तथा पत्रकार बृजमान तामाङ, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङसहितसंग चुनावी भेटघाट गरि छलफल गरेको उनले जानकारी दिए । उनले आफ्नो समर्थकसहित घरदैलो तथा भेटघाटलाई निरन्तरता दिदै आएको बताए ।
उम्मेदवारी दिएदेखी नै स- स्फुर्त रुपमा फोन तथा भेटघाट गरेर जन समर्थन पाइरहेको उनले बताए । चौधरीले जनताको अपार माया र विश्वासले आफ्नो मनोबल उच्च बनाएको बताउँदै क्षेत्रबासी मतदाताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।
आफुसंग लामो राजनीति अनुभव भएको बताउँदै उनले कुलमान घिसिङले देशका लागि दिएको योगदान र उनको इमानदारीताले उज्यालो अभियानमा लाग्ने प्रेणा जागेको बताए । चौधरीले घिसिङ जस्ता राष्ट्रभक्त व्यक्तित्वलाई देशको बागडोर सुम्पीन सके नेपाली जनताको सुशासन ,विकास र समृद्धिको आकांक्षा छिटै पुरा हुने विश्वासको साथ उम्मेदवारी दिएको दोहोर्याए ।
आफ्नो उम्मेदवारी कुर्सी र पदका लागि नभएको स्पष्ट पार्दै उनले भ्रष्टाचार र कुशासन अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सशक्त बनाउने लक्ष्यको साथ अगाडि बढेकोले सबैपक्षलाई साथसहयोगका लागि आग्रह समेत गरे ।
चुनावी भेटघाट कार्यक्रममा बोल्दै उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य इन्जिनियर तेज नारायण यादवले पार्टी अध्यक्ष कुलमान प्रतिको सकारात्मक सोचले देश व्यापी जनाकार्षण बढेको बताए । रास्वपा वरिष्ठ नेता बालेन साह र सभापति रवी लामिछानेप्रति जनआक्रोश बढ्दा घिसिङ प्रति कुनैपनि टिप्पणी नहुनु पार्टीप्रतिको सकारात्मक पक्ष रहेको उनको भनाइ छ ।
उम्मेदवारी दर्ता पछि चुनावी भेटघाटमा रहेका चौधरीलाई चौकचौकमा मतदाता तथा समर्थकहरुले स्वागत सम्मान गर्दै जिताउने आश्वासन दिएका छन् ।
नयाँहरुको वीचमा राष्ट्र र जनताप्रति उद्वार र निस्वार्थ भावनाकोसाथ पार्टी स्थापना गरि चुनावमा होमिएकोले जनता चौधरीको पक्षमा उभिएको स्थानीय बताउछन् ।
नयाँ अग्रागामी सोच र मुलुकको लागि योगदान गर्ने हुटहुटी सहित उम्मेदवार बनेको चौधरीप्रति बढ्दो जनलहरले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी समीकरण फेरीन सक्ने चर्चा हुन थालेको छ।
अध्यारो नेपाललाई उज्यालो बनाउने पार्टीको उम्मेदवार प्रतिको जनाकार्षणले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ को चुनावी सदगर्मी ह्वात्तै बढेको छ ।