न्यूज टुडे
राजविराज,१४ माघ ।
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर–२ स्थित अकबरपुर टोलका एक अग्नीपीडित परिवारलाई धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा सहयोग गरेको छ । स्थानीय बद्री मण्डलका परिवारलाई क्लबद्वारा बुधबार लत्ताकपडा, भाँडाकुँडा, त्रिपाल लगायतका सामाग्री सहयोग गरेको हो ।
क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले पीडित परिवारलाई त्रीपाल, भाँडा, कन्ती, पन्यौ, झुल, तन्ना, धोती,सारी, म्याट्रेस लगायतका सामाग्री प्रदान गरे ।
राहत वितरण गर्दै इन्जिनियर यादवले आपसी सहयोगले थोरै-थोरै गर्दा पनि पीडितलाई ठूलो राहत पुग्ने भएकोले साथ सहयोगका लागि आग्रह गरे । उनले जनचेतनाको अभावले विपदको जोखिम आउने बढी खतरा भएकोले सामजलाई अगाडि बढाउन शिक्षामा जोड दिए ।
शिक्षित समुदाय नै हरेक दृष्टिकोणबाट अगाडि बढेको तथा शिक्षा विनाको समाज पछाडी परेको चर्चा गर्दै उनले आ-आफ्नो बालबालिकालाई विद्यालय पठाएर उच्च शिक्षा हासिल गराउनुपर्नेमा जोड दिए ।
गत माघ २ गते राति करिब १२:१० बजे भीषण आगलागी हुँदा मण्डलको तीन वटा घरमा आगलागी भइ दश लाख बराबरको क्षति भएको थियो ।
आगलागीबाट तीनवटा घर, तीनवटा खसी–बाख्रा, अन्न, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा तथा अन्य घरायसी सामान जलेर खरानी भएको पीडित मण्डलले दुखेको सुनाए ।
समयमै स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएपछि मानवीय क्षति भने हुन नपाएको स्थानीयले जनाएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा प्रहरीको सहयोगमा लामो प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।