न्यूज टुडे
राजविराज, १० माघ ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भोट बटुल्न मात्र सिद्धान्त विहीन राजनीतिले देशलाई थप संकटमा पुर्याउने बताएका छन् । प्रेस जनमत संघद्वारा राजविराजमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै डा. राउतले मधेसी तथा संघीयता विरोधीले मधेसमा भोटको नक्कली राजनीति गरिरहेको भन्दै आपत्ति व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुप्रति इङ्गित गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले विचार र सिद्धान्त हीनहरुले भोट बटुल्न आफुलाई मधेसवादीको झुठो प्रचार गरिरहेको भन्दै आक्रोश पोखे ।
उनले प्रत्येक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री तथा भ्रष्टाचारमुक्त राष्ट्र बनाउन सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीको एजेन्डा नौलो गणतन्त्र देशको लागी अपरिहार्य भएको बताए । जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरु सम्मीलित मन्त्री परिषद गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उनले तर्क गरे ।
अहिले मधेसमा भोटको राजनीतिक गर्नेको विगविगी बढेको छ, सिद्धान्त विहीन र हावादारी कुरा गर्दै आफूलाई संघीयता र मधेसबादी भन्ने उम्मेदवार पनि प्रशस्त छन्’ उनले भने, ‘ राष्ट्रिय स्वतन्त्र पार्टीले पहिचान र संघीयता खारेजको एजेन्डा पार्टी नीति नै बनाएको छ । अहिले जनतालाई झुक्यान मिल्छ ? ‘
उनले संघीयतालाई संस्थागत गर्न पहिचान र संघीयता पक्षधर शक्तिलाई विजयी बनाउनु पर्नेमा जोड दिए । परिबर्तन विरोधी शक्तिको प्रभाव बढेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष राउतले यसले देशलाई दुर्घटना तर्फ धकल्ने बताए ।
आफुले विगतमा गरेको प्रतिबद्धता अनुसार माधेश र सप्तरीबासीको हितमा धेरै काम गरेको चर्चा गर्दै उनले यस पटक फेरी सप्तरीबासीले भारी मतले विजयी गराउने विश्वास व्यक्त गरे।
अरुको उक्साहटमा राष्ट्रघाती कार्य गर्ने,अरुकै लागि राजनीति गर्नेहरूले मुलुकलाई संकटमा फँसाएको भन्दै यस्ताहरुलाई राष्ट्रवादी तथा देशभक्तहरुले बहिष्कार गर्नुपर्ने उनको भनाइ थियो । सुशासन, समृद्धि तथा देश विकासका लागि संघीयतालाई थप अधिकार सम्पन्न र बलियो बनाउनु पर्ने उनको भनाइ थियो ।
प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेश कुमार झाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवलगायतका स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।