सप्तरीको कञ्चनरूप नगरपालिका–१२, दौलतपुरमा अवस्थित सुनाखरी इङ्गलिस बोर्डिङ स्कुलले सरस्वती पूजाको अवसरमा विविध साँस्कृतिक कार्यक्रमसहित पूजा उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक पुष्प बहादुर कार्कीको अध्यक्षता तथा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक भव्य समारोहको वीच पूजा सम्पन्न भएको हो ।
मावि सितापुर भुर्कीका छात्राहरु नृत्य प्रस्तुत गर्दै । फोटो : न्यूज टुडे
कार्यक्रमका प्रमुख अतिथि कञ्चनरूप नगरपालिकाका नगर प्रमुख गुप्ताले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई अनुशासन, सिर्जनशीलता र परिश्रममा अग्रसर हुन प्रेरित गरे । उनले शिक्षा र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विद्यालयले खेलेको भूमिकाको प्रशंसयी रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नेपाली तथा आधुनिक गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए । साथै, शैक्षिक, खेलकुद तथा अन्य विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल तथा कापी प्रदान गरी सम्मान गरिएको थियो।
सरस्वती पूजाजस्ता सांस्कृतिक पर्वले विद्यार्थीमा ज्ञान, संस्कार र सिर्जनशीलताको विकासमा सकारात्मक योगदान पुर्याउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास, र अनुशासन विकास गर्न मद्दत पुगेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।
यसैगरी सप्तरीको मावि प्रशवनी, मावि सितापुर भुर्की, मावि तेरहौता, चाँदनी चौक स्थित क्रिमशन किड्स एकेडेमी, स्काइ लाइन इङलिस बोडिङ्ग स्कुल लगायतका सप्तरीको विभिन्न शैक्षिक संस्थाहरुमा साँस्कृतिक तथा विभिन्न सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।