न्यूज टुडे
राजविराज,०८ माघ ।
राजविराज स्थित रहेको साझा प्रकाशनमा बिहीवार बिद्यार्थीहरूका लागि १ दिने पुस्तक प्रदर्शनी गरिएको छ । पुस्तक पढ्ने बानी बसाल्नका लागि राजविराज नगरपालिकाले सरस्वती पुजाको अवसरमा पुस्तक प्रदर्शनी गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविनले पठनपाठन गर्ने बानीको लोप हुदै गएकोले पुस्तक प्रदर्शनीको आयोजना गरेको बताइन्
´प्रविधिको विकाससँगै किताब अध्ययन गर्ने बानीको निरन्तरता दिन आवश्यक छ ।’ उनले भनिन् ‘पढ्ने बानीले हामीलाई सिकाईसँगै आनन्द मिल्नेछ ।’
उनले एउटा पालिकामा एउटा पुस्तकालय अनिवार्य हुनुपर्ने आवश्यक भएकोले आफ्नो पालिकामा यसै वर्षको लोकनाथ पुस्तकालय पुन: संचालनमा ल्याउने तयारी भईरहेको बताइन् ।
राजविराज नगरपालिकाका शिक्षा संयोजक भोगेन्द्र यादवले बिद्यार्थीको शैक्षिक गुणस्तरीयताका लागि नियमित पठनपाठन एकदमै आवश्यक भएकोले नियमित पठनपाठन गर्न र पुस्तककालयको महत्त्व बुझ्नका लागि यो पुस्तक प्रदर्शनी अति फलदायी हुने विश्वास व्यक्त गरे ।
पुस्तक प्रदर्शनीमा नगर शिक्षा समितिका सदस्य एवम् पूर्व शिक्षक देवेन्द्र मिश्रले डिजिटल युगमा पुस्तक पढ्ने वानी हराउदै गरेको बेला यो कार्यक्रम उपयोगी भएको बताए। जतिसुकै डिजिटल युग आएपनि किताब पढ्नुको मजा र उपयोगी छुट्टै हुने उनले अनुभव सुनाए ।
कार्यक्रममा साझा प्रकाशनका प्रबन्धक मनोज कुमार माझी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुधा देव,राजविराज नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वडा अध्यक्ष सुभाष चन्द्र यादव,सामाजिक अभियन्ता सुरेश मुखिया पुस्तकालय र पुस्तक पढ्ने बानीको महत्त्वको विषयमा चर्चा गर्नु गरे ।
पुस्तक प्रदर्शनीमा राजविराज नगरपालिकाका सामुदायिक बिद्यालयहरू जनता आधारभूत विद्यालय मुसहरनिया,राजदेवी माध्यमिक बिद्यालय,केशो अनिरूद्धवति माध्यमिक विद्यालय,पब्लिक माध्यमिक विद्यालय लगायत करिब १ दर्जन बिद्यालयका बिद्यार्थीहरूले अवलोकन गरेका थिए ।
बिद्यार्थीलाई चाहिने आवश्यक किताबहरू नगरपालिकाले खरिद गरेर बितरण समेत गरेको छ ।