जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विकास, सुशासन र समृद्धिको आकांक्षा संस्थागत गर्न जसपा नेपालको जीत अपरिहार्य रहेको बताएका छन् । सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष यादवले बिहिवार स्थानीय जनतासँग भेटघाट तथा छलफलको क्रममा यस्तो बताएका हुन् ।
भेलामा सहभागी जसपा नेपालका नेताकार्यकर्ता । फोटो : न्यूज टुडे
डाक्नेश्वरी नगरपालिका स्थित कटैया फत्तेपुरमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले क्षेत्रको समस्याबारे अवगत गराएपछि उनले काँग्रेस कम्युनिस्टको ३५ बर्षको शासनकालको असफलताको उपज रहेको उल्लेख गरे । सहभागीहरूले गाउँहरू जोड्ने सडकहरूको जर्जर अवस्था, सिँचाइ अभाव, विद्यालयहरूमा शैक्षिक गुणस्तरमा कमी, भरपर्दो स्वास्थ्य सुविधा नरहेको, गरिबी तथा बेरोजगारी समस्याबारे जसपा अध्यक्ष यादव समक्ष गुनासो गरेका छन् ।
स्थानीयको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सप्तरीको विकास तथा समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए । विगतमा सप्तरीका जनताबाट निर्वाचित हुँदा दूरगामी सोचका साथ शिक्षा, स्वास्थ्य र सडक निर्माण सम्बन्धि थुप्रै कामहरू गरेको उनले दाबी गरे ।
विगतमा कांग्रेस कम्युनिस्टले सत्ता सञ्चालन गरेको तथा उनीहरूकै जनप्रतिनिधि जितेर गए पनि परिवर्तन नभएको चर्चा गर्दै उनले भोट माग्न आउनेहरूसँग प्रश्न गर्न आग्रह गरे । क्षेत्र नम्बर ३ मा अत्यधिक गरिबी, अशिक्षा र बेरोजगारी रहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष यादले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तथा विकास, सुशासन र समृद्धिको आकांक्षा संस्थागत गर्न जसपा नेपालका उम्मेदवारहरूलाई भारी मतले जिताउन आग्रह गरे।
भेलाले पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह संयोजक र पूर्व साँसद बिदेश्वर प्रसाद यादव ( विक्की) उप संयोजक रहेको १०१ सदस्यीय क्षेत्रीय स्तरीय चुनाव अभियान परिचालन समिति गठन गरिएको छ ।
भेलाबाट पालिका र बुथ स्तरसम्म चुनावी परिचालन समिति गठन गरि सक्रिय बनाइने निर्णय गरिएको समितिका संयोजक पूर्व अर्थमन्त्री साहले बताए ।
जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका नेताहरूले समेत चुनावी रणनीति बारे आआफ्ना सुझाव तथा विचार राखेका थिए ।
स्थानीय युवा नेता राजेश्वर प्रसाद रायद्वारा संचालित कार्यक्रममा स्वागत जसपा नेपालका अर्का जिल्ला अध्यक्ष सुनिल कुमार झाले गरेका थिए ।
उक्त अवसरमा पार्टीका केन्द्रीय नेता तथा जनप्रतिनिधि र स्थानीय नेताकार्यकर्ताको उपस्थिति थियो ।