न्यूज टुडे
राजविराज,०८माघ ।
सडक निर्माणको माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ स्थित खाडो पुलमा बिहीवार सडक अवरुद्ध गरिएको छ । बर्षोसम्म सडक खनेर अलपत्र छोड्दा दैनिक दुर्घटनाको सिकार हुनुपरेको भन्दै स्थानीय सीटी रिक्सा व्यवसायीहरुले आधघण्टा सडक अवरुद्ध गरेका हुन् ।
उनीहरूले खाडो पुलमा सीटी रिक्सा तेर्साएर विहान १० : ४० बजेदेखि ११ : १० बजेसम्म सडक जाम गरेका थिए ।
बन्दका कारण लामो तथा छोटो दुरीको सयौंको संख्यामा सवारी साधन सडकमा रोकिएको थियो । सडक अबरुद्ध भएपछि हजारौं यात्रुहरुले सास्ती खेप्न बाध्य भएका थिए ।
छ बर्षदेखी सडक खनेर अलपत्र छोड्दा खाल्डाखुल्डी भइ दैनिक दुर्घटना हुने गरेपछि सडक मर्मत तथा निर्माणका लागि पटकपटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएपछि बाध्य भएर सडक संघर्षमा उत्रिन परेको सीटी व्यवसायी विनोद मेहताले बताए ।
पहिलो चरणमा संकेतिक रुपमा आन्दोलन गरिएको र अझै सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । स्थानीय प्रशासनले माग सम्बोधन गराउने आश्वासन दिएपछि अवरुद्ध सडक आधाघण्टा पछि खोलिएको उनले जानकारी दिए ।
उक्त सडक निर्माण कार्य सुस्त गतिमा हुँदा सवारी संचालनमा समस्या उत्पन्न भएको छ भने सडकमा उड्ने धुलोले स्थानीयबासी प्रभावित भएका छन् ।