• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

उज्यालो नेपालबाट डा. चौधरीसहित सप्तरीको ४ वटै क्षेत्रबाट उम्मेदवारी

उज्यालो नेपालबाट डा. चौधरीसहित सप्तरीको ४ वटै क्षेत्रबाट उम्मेदवारी
न्यूज टुडे
राजविराज,०७ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट सप्तरीको ४ वटै क्षेत्रबाट उम्मेदवारी दर्ता भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट डा. दिपक कुमार चौधरीसहित ४ वटै क्षेत्रबाट उज्यालो  नेपालका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् । 
उज्यालो नेपाल पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गरेका डा. चौधरीले आफूलाई सशक्त उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।  डा. चौधरी  कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य हुन् । 
राजविराज नगरपालिका १३  स्थित बिषहरिया निवासी डा. चौधरी सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेपछि क्षेत्रबासी जनता उत्साहित भएको जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले बताए ।
डा. चौधरी ‘नेतृत्व र सुशासन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट  विद्यावारिधी गरेका अनुभवी नेताको रुपमा चिनिन्छ । उनको “नेपालको मधेसी समाज,रुपान्तरण,पूर्वी एसियाको आँखीझ्याल,तराइ मधेस अफ नेपाल’ लगायतका दर्जनौं दर्शन तथा कृतिहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रकाशित भएको छ । 
२० बर्षको प्रशासनिक तथा व्यवस्थापकीय  लामो अनुभव भएका डा. चौधरी तराई मधेसलाई नजिकबाट बुझेको विकासविद, लेखक, सामाजिक अभियानताको रुपमा चिनिन्छ । 
डा. चौधरीको उम्मेदवारीले अहिले  सप्तरी २ को राजनीति बृतमा उच्च चर्चा पाएको छ । दुई राष्ट्रिय पार्टीका प्रभावशाली नेताले  सप्तरी २ बाट मनोनयन दर्ता हुँदा नयाँ पार्टी नेतृत्वको विषयमा चियापसलदेखि पान पसलसम्म चर्चा हुन थालेको छ । यसले सप्तरीको चुनावी सदगर्मी बढेको छ । 
सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनता समजवादी पार्टी नेपालबाट पूर्व सिंचाइमन्त्री उमेश कुमार यादव उम्मेदवार बनेका छन् । 
डा. चौधरीको मनोनयन दर्ता गरेसंगै निबर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेका डा. राउतलाई आफ्नो विरासत जोगाउन हम्मेहम्मे परेको छ भने यादव गुमेको शाख फर्काउने कसरतमा छन् । त्यस क्षेत्रका जनताले दोहोर्‍याएर भन्दा नयाँ उम्मेदवारलाई अवसर दिने परम्पराले पनि डा. चौधरीको उम्मेदवारीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को राजनीति तरंगीत बनेको छ । 
यसैगरी उज्यालो नेपाल पार्टीबाट क्षेत्र नम्बर १ बाट हर्ष नारायण चौधरी, क्षेत्र नम्बर ३ बाट परमेश्वर लाल साह र क्षेत्र नम्बर ४ बाट विश्व यादवले उम्मेदवारी दिएको उज्यालो नेपालका सप्तरी संयोजक डा. यादवले जानकारी दिए ।