• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी ३ बाट उपेन्द्र यादव र २ बाट सिके राउतको उम्मेदवारी

सप्तरी ३ बाट उपेन्द्र यादव र २ बाट सिके राउतको उम्मेदवारी
न्यूज टुडे
राजविराज, ०६ माघ । 
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी ३ र जनमत पार्टीका डा. सिके राउतले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।  यादवले शम्भुनाथ नगरपालिका ७  भगतपुर स्थित निर्वाचन अधिकृतको कार्यालय तथा डा. राउतले राजविराज स्थित खेलकुद विकास समितिको कार्यालय रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर  उम्मेदवारी दर्ता गराएका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत । फोटो : न्यूज टुडे
बिशाल र्‍यालीसहित  निर्वाचन अधिकृतको कार्यालय पुगेका अध्यक्ष यादवको प्रस्तावकमा मधेस प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र समर्थक विदेश्वर प्रसाद यादव विक्की रहेका छन् । 
यादव २०७९ को निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । उनलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पराजित गरेका थिए । 
यसैगरी  डा. राउतको समर्थकमा  जनमत पार्टीका सप्तरी जिल्ला इन्चार्ज रामगमन साह छन् भने प्रास्तावकमा मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव रहेका छन् । 
डा. राउतले २०७९ को निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष यादवलाई  पराजित गरि विजयी भएका थिए । 
यसैगरी पूर्व सिंचाइमन्त्री उमेश कुमार यादवले जसपा नेपालबाट सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन् भने पूर्व खेलकुद मन्त्री तेजुलाल चौधरीले सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । 
यादव २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट सप्तरी २ (ख) प्रदेश सभा सदस्यमा उम्मेदवार  भएका थिए ।  प्रदेश सभा सदस्यमा पराजित यादव एक महिना अगाडि माओवादी केन्द्र परित्याग गरि जसपा नेपाल प्रवेश गरेका थिए ।
यसैगरी चौधरी तेस्रो पटक निरन्तर प्रतिनिधि सभा सदस्य विजयी भएका थिए भने यस पटक  फेरि बिजयी हाँसिल गरे यो उनको चौथो जित हुनेछ । 
यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका  छन् । उनले राष्ट्रिय स्वभिमान पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । यस अघि उनी जनमत पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए । उनले मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका थिए ।