रामनाथ चौधरी
महुली, ०५माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा सोमबार २८६२ औ सोनाम (ता ल्हो) जिल्ला स्तरीय ल्होछार साँस्कृतिक महोत्सव यसको महत्व र विशेषता एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ सप्तरीको आयोजना एवम् नेपाल तामाङ साँस्कृतिक घेदुङ तथा स्थानीय तह घेदुङको समन्वयमा बृहत ल्होछार साँस्कृतिक महोत्सव भव्यताकोसाथ सम्पन्न भएको हो ।

महोत्सवको उद्घाटन प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरी र विशिष्ट अतिथि घेदुङका संघीय उपाध्यक्ष लामा धर्म डुम्जनले पानसमा बत्ती बलेर र व्यानर पढेर संयुक्त रुपमा उद्घाटन गरे ।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङको अध्यक्षतामा आयोजित महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले ल्होछार पर्वले सामाजिक एकता र समृद्धिमा टेवा पुग्ने बताइन् । सामाजिक विकास पनि विकासको अंग भएको बताउँदै उनले आफ्नो भाषा र संस्कृतिलाई संरक्षणका लागि तामाङ समुदायले खेलेको भुमिका उदाहरणीय रहेको बताइन् ।

उनले तामाङ समुदायसहित सबै जाति समुदायको संस्कृति संरक्षणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
घेदुङका संघीय उपाध्यक्ष डुम्जनले तामाङ जातिको धार्मिक साँस्कृतिक पर्व सोनाम ल्होछार तामाङको जीबनसंग जोडिएको भन्दै यसको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले तामाङ समुदायले धार्मिक विधिअनुसार कुल देवताको प्रसादको रुपमा पाँच दिन सम्म मान्यजनको हातबाट टीका खदा ग्रहण गरि ल्होछार मनाउने भएकोले १ दिनको विदा प्रयाप्त नभएको बताए । डुम्जनले सोनाम ल्होछारमा कम्तीमा तीनदिन राष्ट्रिय विदा दिनुपर्नेमा जोड दिए ।

पहिचानवदी नेता विकास कुमार तिवारीले राज्यको दमनकारी नीतिका कारण तामाङ समुदाय पछाडि परेको बताए । राज्यले तामाङ समुदायमाथि विभिन्न कालखण्डमा गरेको चरम दमन र भेदभाव बारे चर्चा गर्दै उनले देशमा अन्य जातिलाई भन्दा तामाङलाई बढी राज्यले उपेक्षा गर्दा तामाङ अझै अगाडि बढ्न नसकेको बताए । उनले पहिचान, प्रतिनिधित्व र अधिकारका लागि उत्पीडित जातीसमुदाय गोलबद्व हुनु अपरिहार्य रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले चाडपर्वले सामाजिक तथा राष्ट्रिय एकतामा बल पुग्ने बताए । उनले आफ्नो हक अधिकार सुनिश्चितताका लागि कार्यक्रममा बहस गर्दै अधिकार प्राप्तिका लागि कर्तव्य समेत निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय सरदार बाँतार समाज विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष बच्चेलाल सरदार, थारु कल्याणकारी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी, नेपाल पत्रकार महासंघ मधेस प्रदेश उपाध्यक्ष अम्विका दाहाल, सप्तरी शाखा अध्यक्ष श्रवण कुमार देव, आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, शम्भुनाथ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दुर्गानन्द भगत, नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिल बहादुर मगर, थारु कल्याणकारिणी सभा सप्तरीका उपसभापति रामप्रसाद चौधरीलगायतका शुभकामना मन्तव्य व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेश महासचिव बृजमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ घेदुङकी मधेस प्रदेश कोषाध्यक्ष एवम् सप्तरी जिल्ला उपाध्यक्ष सरिता योन्जनले गरिन भने ल्होछारको महत्व र विशेषता बारे संघीय सदस्य भिम घिसीङले प्रकाश पारे ।
कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग सप्तरीका प्रमुख कुलचन्द्र नेपाल, स्थानीय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक कानुन लाल चौधरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष पशुपति प्रसाद चौधरी, ४ का वडाध्यक्ष तेज नारायण यादव, नेपाल तामाङ घेदुङ मधेस प्रदेशका सदस्य अशोक योन्जन,नेवा: देय: दबू सप्तरीका अध्यक्ष अर्जुन श्रेष्ठ, दनुवार जागरण समिति सप्तरीका अध्यक्ष विन्देश्वर सिंह दनुवार, हलुवाइ समाज नेपाल सप्तरीका अध्यक्ष चन्देश्वर साह हलवाई लगायतका विभिन्न जाति समुदायका केन्द्र, प्रदेश जिल्ला पदाधिकारी तथा जिल्ला भरीका तामाङ समुदायको उपस्थिति थियो ।
उक्त अवसरमा ल्होछार सम्बन्धि मौलिक गीत, नृत्य प्रस्तुत गर्नुको साथै तामाङ खानपिन एवम् तामाङ पहिरनको प्रदर्शनी गरिएको थियो । कार्यक्रममा साँस्कृतिक महोत्सवमा सहभागीता जनाउने २७ जना राष्ट्रिय तथा स्थानीय कलाकारलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सार्वजनिक रुपमा सोमबार ल्होछार पर्व मनाइए पनि धार्मिक विधिअनुसार तामाङ समुदायले फागुन ५ गते ल्होछार मनाइने नेपाल तामाङ घेदुङले जनाएको छ । यस बर्ष मलमास परेकोले एकमहिना पछिमात्र घरघरमा ल्होछार मनाउने जनाइएको छ ।
उनले फागुन ५ गते कुल देवताको प्रसादको रुपमा टीका खदा ग्रहण गरि पाँच दिनसम्म ल्होछार मनाइने छ । मान्यजनको हातबाट पाँच दिनसम्म टीका खदा ग्रहण गरि ल्होछार मनाउने कार्यक्रम यसबर्ष एक महिना पछि सरेको छ ।
ल्होछारको अघिल्लो दिन ( औशी)को साँझ परिवारमा खानापिन सकेर चोखो निधो गरि पुरानो बर्षलाई विदा गर्दै घरमुलीले कुवेरको पूजा गरेर नयाँ ल्होछारको स्वागतको तयार गरिन्छ । यो पूजा गर्दा बर्षभरी कमाएको धनको संरक्षण हुने र सह बस्ने तथा बर्ष भरी गरिएको पापबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।
,तिथि अनुसार माघशुक्ल प्रतिपदाको दिन सोनाम ल्होछार पर्ने हुँदा यसबर्ष भने फागुन ५ गतेको दिन विहान नयाँ बर्षको स्वागतमा घरघरमा शान्तिको झण्डा फहराउँदै कुल देवतालाई खदा, अक्षता, फलफुल चढाएर पूजा गरिन्छ र घरमुलीको हातबाट कुलदेवतालाई चढाइएको अक्षता, टोटलाको फुलको टीका थापी खदा प्रसादको रुपमा ग्रहण गरि टीका प्रारम्भ हुन्छ ।
पाँच दिन सम्म आफ्ना माइतीमामली गएर टीका खदा ग्रहण गरि आर्शिवद थापेर ल्होछार मनाउँदा बर्षभरी घरपरिवारमा सुख, शान्ति, समृद्धि हुने,आफुले भाकेको सबै मनकामना तथा इच्छा पूरा हुने तथा पुण्य प्राप्त हुने ल्होछार पर्वको धार्मिक मान्यता रहेको छ ।
Tags:
मुख्य समाचार