सप्तरीको महदेवा गाउँपालिका–२ अकबरपुर टोलमा शुक्रबार मध्यरात्री आगलागी भयो । स्थानीय बद्री मण्डलको घरमा आगलागी हुँदा तीन वटा घर, पशुचौपाया, अन्नपात र अन्य घरायसी सामान जल्दा १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
अकबरपुरको आगलागी र त्यसबाट भएको क्षति एउटा प्रतिनिधिमूलक घटना मान्न सकिन्छ । माघ लाग्नासाथ आगलागी हुन थालेपछि आगामी सुक्खा याममा आगलागीको प्रकोप अझै बढेर जाने सक्दछ । आगलागी मूलतः लापरवाहीकै कारणले बढी हुने गरेको छ । सुक्खा याममा आगलागीबाट जोगिने उपाय र आवश्यक सावधानी अपनाउन जरुरी हुन्छ । यसका लागि चेतना तथा सन्देशमूलक कार्यक्रम पनि यदाकदा गर्ने गरिएको छ । यस्ता चेतनामूलक सन्देश जारी गर्दा पनि त्यसको पालना गर्ने जिम्मेवारी त व्यक्तिमै निर्भर रहने हो । माघ फागुनदेखि हावाहुरीको समय पनि सुरु हुन्छ । हावा चलेको समयमा आगो बाल्दा आगलागीको जोखिम पनि बढी रहने गर्दछ । यस्तो समयमा आगो बालेर खाना पकाउने भन्दा पनि हावा नचलेको समयमा अलि सबेरै खाना पकाउनाले जोखिम कम गर्न सकिन्छ । आगलागी हुनै नपाओस् भन्नका लागि सबैले विशेष सावधानी अपनाउने हो भने धेरै हदसम्म यस्तो त्रासदीलाई नियन्त्रण गर्न सकिन्छ ।
कथंकदाचित आगो लागिहाल्यो भने पनि क्षति न्यूनीकरणका उपायहरु पनि छन् जसको अवलम्वन गर्नुपर्ने आवश्यकता रहन्छ । भनिन्छ, ‘रोग लागिसकेपछि उपचार तिर लाग्नु भन्दा रोगै लाग्न नपाओस् भन्नका लागि सावधानी अपनाउनु बुद्धिमानी हो ।’ आगलागिको सम्बन्धमा पनि यस्तै उपायको अवलम्वन गरिनु उत्तम हुने छ ।