• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको चाँदनी चौकमा बृहत ल्होछार साँस्कृतिक महोत्सव हुने

सप्तरीको चाँदनी चौकमा बृहत ल्होछार साँस्कृतिक महोत्सव हुने
न्यूज टुडे
राजविराज, ०४ माघ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा सोमबार २८६२ औ सोनाम (ता ल्हो) जिल्ला स्तरीय ल्होछार साँस्कृतिक महोत्सव २०८२ हुने भएको छ । अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको सहयोगमा नेपाल तामाङ घेदुङ सप्तरीको आयोजना एवम् नेपाल तामाङ  साँस्कृतिक घेदुङ एवम् स्थानीय तह घेदुङको समन्वयमा बृहत  ल्होछार साँस्कृतिक महोत्सव हुने भएको हो । 
महोत्सवको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले उद्घाटन गर्ने कार्यक्रम नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङले बताए ।।
महोत्सव उद्घाटन समारोहलाई प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी, नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष धर्म डुम्जन, केन्द्रीय सदस्य भिम घिसिङ,  पहिचानवादी नेता विकास कुमार तिवारी लगायतका  विभिन्न नगरपालिका, गाउँपालिका,प्रमुख तथा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेता, जातीय संगठनका अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । 
उक्त अवसरमा ल्होछार सम्बन्धि मौलिक गीत, नृत्य प्रस्तुत गरिने तथा तामाङ खानपिन एवम् तामाङ पहिरनको प्रदर्शनी गरिने  तथा ल्होछार पर्वको महत्त्व र विशेषता विषयक अन्तरक्रिया र शुभकामना आदानप्रदान गरिने अध्यक्ष तामाङले बताए ।  जिल्लाका विभिन्न  स्थानीय तहका तामाङ बस्तीबाट १ हजारबढी सहभागी हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए । 
सार्वजनिक रुपमा सोमबार ल्होछार पर्व मनाइए पनि धार्मिक विधिअनुसार फागुन ५ गते ल्होछार मनाइने नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसीङले बताए ।  उनका अनुसार मलमास परेकोले एकमहिना पछिमात्र घरघरमा ल्होछार मनाउने साइत छ । 
उनले फागुन ५ गते कुल देवताको प्रसादको रुपमा टीका खदा ग्रहण गरि पाँच दिनसम्म ल्होछार मनाइने बताए । मान्यजनको हातबाट पाँच दिनसम्म टीका खदा ग्रहण गरि ल्होछार मनाउने कार्यक्रम यसबर्ष एक महिना पछि सरेको बताए । 
ल्होछारको अघिल्लो दिन ( औशी)को साँझ परिवारमा खानापिन सकेर चोखो निधो गरि पुरानो बर्षलाई विदा गर्दै घरमुलीले कुवेरको पूजा गरेर  नयाँ ल्होछारको स्वागतको तयार गरिन्छ । यो पूजा गर्दा बर्षभरी कमाएको धनको संरक्षण हुने र सह बस्ने तथा बर्ष भरी गरिएको पापबाट मुक्ति पाउने धार्मिक विश्वास छ ।  
,तिथि अनुसार माघशुक्ल प्रतिपदाको दिन सोनाम ल्होछार पर्ने हुँदा यसबर्ष भने फागुन ५ गतेको  दिन विहान नयाँ बर्षको स्वागतमा घरघरमा शान्तिको झण्डा फहराउँदै कुल देवतालाई खदा, अक्षता, फलफुल चढाएर पूजा गरिन्छ र घरमुलीको हातबाट कुलदेवतालाई चढाइएको अक्षता, टोटलाको फुलको टीका थापी खदा प्रसादको रुपमा ग्रहण गरि टीका प्रारम्भ हुन्छ । 
पाँच दिन सम्म आफ्ना माइतीमामली गएर टीका खदा ग्रहण गरि आर्शिवद थापेर ल्होछार मनाउँदा बर्षभरी घरपरिवारमा सुख, शान्ति, समृद्धि हुने,आफुले भाकेको सबै मनकामना तथा इच्छा पूरा हुने तथा पुण्य प्राप्त हुने ल्होछार पर्वको धार्मिक मान्यता रहेको छ ।