• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हरिरवामा दोश्रो माघी महोत्सव :  सरकारबाटै पहिचान र अधिकार खतरामा छ : अध्यक्ष यादव

हरिरवामा दोश्रो माघी महोत्सव :  सरकारबाटै पहिचान र अधिकार खतरामा छ : अध्यक्ष यादव
न्यूज टुडे
राजविराज, ०३ माघ । 
सप्तरीको रुपनी गाउँपालिका २ स्थित हरिरवा डबरा हटियामा शनिबार दोसर माघी महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । रुपनी गाउँपालिका २ को सहयोग तथा थारु कल्याणकारीणी सभा रुपनी गाउँपालिका २ वडा समितिले थारु सम्वत २६४९ को अवसरमा माघी महोत्सव आयोजना गरेको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष याद । फोटो : न्यूज टुडे
थारु कल्याणकारीणी सभा रुपनी गाउँपालिकाकी वरिष्ठ उपाध्यक्ष शान्तिदेवी चौधरीको अध्यक्षतामा आयोजित महोत्सवको प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले रिवन काटेर र पानसमा बत्ती बालेर महोत्सव उद्घाटन गरे । 
महोत्सव उद्घाटन गर्दै प्रमुख अतिथि अध्यक्ष यादवले बर्तमान सरकारबाटै संघीयता, पहिचान र प्रतिनिधित्वसहितको उपलब्धि खतरामा परेको बताए ।  सरकारले एकपछि अर्का प्रतिगामी कदम र सम्झौता गर्दै मधेस, आदिवासी, थारु आन्दोलनको बलमा प्राप्त उपलब्धि खोस्ने प्रयास गरेको आरोप लगाउँदै उनले पहिचानवादी शक्तिहरु एकजुट भए दुनियाँको कुनै पनि तागतले प्राप्त अधिकार उल्टाउन नस्सक्ने जिकिर गरे । 
महोत्सवमा सहभागीहरु । फोटो : न्यूज टुडे
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव  बृजमान तामाङले जेनजी आन्दोलनका बलमा बनेको सरकारले भ्रष्टचारीलाई उन्मुक्ति दिन सम्पत्ति सुद्वीकरणका मुद्दा फिर्ता गर्ने निर्णयले कुशासनलाई प्रोत्साहन दिएको बताए । संघीयता खारेज गर्ने प्रतिगामी सम्झौता र भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति छानबिनन गर्ने मुद्दा  फिर्ता लिने सरकारको निर्णयले सुशासन र समृद्धिको यात्रा ओझेलमा परेको भन्दै उनले यो जेनजी सहिदप्रति अपमान र आन्दोलनप्रतिको  गम्भीर धोका भएको टिप्पणी गरे । 
शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल मगर संघका मधेस प्रदेश सदस्य टेक प्रसाद समाल । फोटो : न्यूज ट्य्डे
उनले बर्तमन अवस्थामा प्राप्त उपलब्धि रक्षा गर्ने चुनौती र थप अधिकार सुनिश्चितताका लागि अवसर दुबै भएकोले पहिचानवादी अग्रगामी शक्तिहरुले चुनावलाई उपयोग गर्नुपर्नेमा जोड दिए । 
नेपाल मगर संघ मधेस प्रदेशका सदस्य टेक प्रसाद समाल मगरले माघी महोत्सवले थारुको मात्र नभएर सम्पूर्ण जातजातिको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।  महोत्सवले थारुसहितका लोपोन्मुख जातजाति समुदायको पहिचान र संस्कृतिलाई उचाइमा पुर्‍याउन मदत पुग्ने बताउँदै उनले सामाजिक न्याय र समतामुलक समाज निर्माणमा सम्पुर्ण उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति शम्भु कुमार यादव, रुपनी गाउँपालिकाका पूर्व अध्यक्ष हरेराम यादव, रुपनी गाउँपालिका २ का वडाध्यक्ष सरोज कुमार यादव, थाकस रुपनी गाउँपालिका अध्यक्ष गोपाल प्रसाद चौधरी, मावि घोघिदहाका शिक्षक  स्थानीय हरेराम चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । 
स्थानीय युवा नेता देवानन्द चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत गजेन्द्र प्रसाद चौधरीले गरे । 
कार्यक्रममा चर्चित कलाकार दिल कुमारी चौधरीसहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मौलिक थारु पौराणिक, गीत तथा नृत्य प्रस्तुत गर्नुको साथै विभिन्न थारु परिकार र  स्थानीय उत्पादनहरुको स्टल राखी प्रदर्शनी गरिएको थियो ।