उत्तम आचार्य
कन्चनरुप , ०२ माघ ।
मधेस प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादवले नयाँ शक्ति भनेर उदाएका पार्टीहरुले दलित , मधेसी , थारू , अल्पसंख्यक जातिको अधिकार खोस्नको लागि संघीयता खारेज गर्न खोजेको आरोप लगाएका छन् । कन्चनरुप ४ कविलासा गैंड सिंह बाबाको प्राङ्गणमा शुक्रबार राष्ट्रिय सरदार बातर समाज बिकास केन्द्रद्वारा ९ औं माघी तिला संग्राती महोत्सव २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बताएका हुन् ।
उनले नयाँ शक्ति भन्नेहरुले संघीयता खारेज गर्न खोजी रहेका भन्दै त्यसको लागि हामीले सचेत भएर खबरदारी गर्न जरुरी रहेको बताए ।संघीयता भएका कारणले तीन तहको सरकारबाट दलित , मधेसी , थारू र अल्पसंख्यक जातिका मानिसहरुले आफ्नो अधिकार प्राप्त गरि काम गर्न पाएको उनको भनाइ छ ।
मन्त्री यादवले संघीयता दलित , मधेसी , थारू र अल्पसंख्यक जातिको लागि अतिनै आवश्यक रहेकोले यसको संरक्षण गर्न सबै एक भएर लाग्नु पर्नेमा जोड दिए।
सरदार जातिको धर्म संस्कृति र चाडबाडको संरक्षण र बिकास गर्न आफू लागि पर्ने र जातिय मुक्ती आन्दोलन बिना आफ्नो अधिकार प्राप्त हुन नसक्ने यादवको कथन छ ।
धर्म , संस्कृति र पहिचानको संरक्षण गर्न आफू लागि पर्ने बताउदै शिक्षा , स्वास्थ र कृषिको अवस्था जरजर रहेकोले त्यसलाई सुधार गर्न आफुले काम शुरु गरेको उनले बताए ।
दलित सरोकार मंचका निर्देशक भोला पासवानले लोक संस्कृतिको संरक्षण गर्न दलित समुदायको अहम भुमिका रहेको बताए ।सबै जातजातिको भाषा संस्कृतिको संरक्षण भए मात्र देश सुदृढ भएर अगाडि बढने उनले दाबी गरे ।
सरदार जातिको समस्याका बारेमा बोली दिने मानिस राज्यमा नभएकै कारणले गर्दा सरदार जाती पछाडी परेको उनको भनाइ थियो ।
राष्ट्रिय सरदार बातर समाज बिकास केन्द्र कन्चनरुपका नगर सभापति राजेश सरदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सरदार बातर समाज बिकास केन्द्रका केन्द्रिय उपाध्यक्ष रन्जना सरदार , वडा नम्बर ४ का वडा अध्यक्ष जोगिन्द्र पासवान लगायतका वक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरे ।
उक्त अवसरमा मधेस प्रदेशका अर्थ मन्त्री महेश प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई मायाको चिनो सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सरदार जातिमा पहिलो एमबिबिएस गर्ने डा . अर्जुन सरदारलाई सम्मान – पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यसअघि आफ्नो भेषभुषामा सजिएका महिलाहरुको कलश यात्रा कन्चनरुप नगरको विभिन्न भाग परिक्रमा गरि कार्यक्रम स्थलमा आइ सभामा परिणत भएको थियो ।
राष्ट्रिय सरदार बातर समाज बिकास केन्द्रका केन्द्रिय सभापति श्यामसुन्दर सरदारद्वारा संचालित कार्यक्रममा स्वागत राष्ट्रिय सरदार बातर समाज बिकास केन्द्रका केन्द्रिय उपाध्यक्ष बच्चुलाल सरदारले गरे ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय बाँतार कलाकारहरूले नृत्य प्रस्तुत गरि दर्शकहरुलाइ मनोरञ्जन दिलाएका थिए ।