जनताबाट निर्वाचित भएर जिम्मेवारीमा पुगेको जनप्रतिनिधिले तिनै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने हुन्छ । उनीहरुले गरेका कामको मूल्याङ्कन पनि जनताले नै गर्ने र त्यसै आधारमा उनीहरुको कार्यकाल सफल वा असफल के रहयो भन्ने कुराको निष्कर्ष निकालिन्छ ।
जनताले स्थानीइ तहमा चुनेर पठाएका जनप्रतिनिधिहरु उनीहरुका लागि नजिकको सरकारकै रुपमा लिने गरिन्छ । यस हिसाबले स्थानीय तहका प्रमुखदेखि वडासदस्य समेतको आ–आफ्नो पदीय जिम्मेवारी रहन्छ । जनप्रतिनिधिले आपसी समन्वयका साथ जनताका लागि विकास निर्माणको कामदेखि पालिका र त्यस अन्तर्गतका सबै निकायलाई निर्बाध सञ्चालनको व्यवस्था मिलाउनुपर्ने हुन्छ । तर यस्तो गुरुत्तर जिम्मेवारी रहँदा पनि सप्तरीको कञ्चनरुप नगरपालिकामा भने मेयर र उपमेयरका बीच विवादका कारण नगरेको समस्त काम प्रभावित हुने अवस्था आएको छ । आ–आफ्नो पदीय जिम्मेवारी बहन गर्ने एकले अर्काको कार्यक्षेत्रमा हस्तक्षेप नगरी समन्वयका साथ काम गर्नुपर्नेमा आपसकै विवादका कारण कर्मचारीले तलव सम्म खान नपाउने अवस्थाको सिर्जना भएको छ । आफूले दायित्वबोध गरी यस्तो अवस्था सुधार्ने तर्फ पहलकदमी लिने जिम्मेवारी पनि मेयर, उपमेयरै रहने कुरा निर्विवाद छ । विवाद बढाएर स्थानीय सरकारकै भूमिकामा गर्नुपर्ने काम प्रभावि हुने अवस्था आउनु सुखद् पक्ष किमार्थ हुन सक्दैन ।
त्यसैले आफ्नै कार्यकाललाई जनताको नजरमा असफल तुल्याउने सक्ने यस्ता विवादको समाधान खोज्नुपर्ने आवश्यकता छ । त्यसको अग्रसरता विवादका दुवै पक्षले लिनुपर्ने हुन्छ ।