सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोलमा प्रथम माघी साँस्कृतिक महोत्सव २०८२ आयोजना गरिएको छ । थारु समुदायको मौलिक साँस्कृतिक पर्व माघी पर्वको अवसरमा ठाकुरजी माविको खेलमैदानमा बिहिवार साँस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा सहभागी दर्शक । फोटो : न्यूज टुडे
प्रथम माघी साँस्कृतिक महोत्सव २०८२ मुल आयोजक समितिका संयोजक पुष्पा चौधरीको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ का वडाध्यक्ष सबजुल खलिफाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष खलिफा, थारु कल्याण कारिणी सभाकी केन्द्रीय उपाध्यक्ष सावित्री चौधरी, अग्नीसाइर कृष्णासवन गाउँपालिकाका पूर्व अध्यक्ष पर्शुराम चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
पूर्व विधायक सरस्वती चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत गीत इन्द्रकला चौधरी र सुमित्रा चौधरीले प्रस्तुत गरिन ।
स्थानीय महिलाहरुको सक्रियतामा आयोजित महोत्सवमा कलश यात्रा, झाकी प्रदर्शन, नाटक, चुटकिला, कमिक, पौराणिक गीत संगीत प्रस्तुत गर्नुको साथै थारु परिकारको विभिन्न स्टलहरु राखिएको थियो ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ को कार्यालयको सहयोग तथा स्थानीय स्तरमा चन्दा संकलन गरी आयोजित महोत्सवमा गाउँपालिका तथा आसपासको स्थानीय तहहरुबाट हजारौंको संख्यामा सहभागी रहेका थिए ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय सयौं युवाहरूलाई स्वयंसेवकको रुपमा तयार गरि सुरक्षा व्यवस्था मिलाइएको स्वयंसेवकका संयोजक कल्पना कुमारी चौधरीले बताइन् । सुरक्षा व्यवस्थालाई मजबुत पारिएकोले सफलता पूर्वक महोत्सव सम्पन्न भएको उनले जानकारी दिइन् ।
पूर्वसाँसद सरस्वती चौधरीले थारु पौराणिक खानापिना,भाषा, भेषभुषा र संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजित कार्यक्रममा थारु समुदायको साँस्कृतिक पर्व माघीको चिनारी र थारु समुदायको मौलिक संस्कृतिलाई उचाइमा पुर्याउन मदत पुग्ने विश्वास व्यक्त गरिन ।
महोत्सवमा सामाजिक विकृति न्यूनीकरण गर्न संदेश दिने नाटक, पौराणिक गीत संगीत स्थानीय महिला कलाकारहरुले प्रस्तुत गरेको तथा थारु पौराणिक खाना घोगी,सितुवा,सिध्रा,तिल र भुजाको लडु,बगिया, तेलपाउ रोटी, माछामासु खानाको परिकारको स्टल र हलो, जुवा, कोदालो, जस्ता कृषि औजारहरु प्रदर्शनीमा राखिएको उनले जानकारी दिइन् ।
स्थानीय महिला कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा अरु महोत्सवको तुलनामा फरक भएकोले थप रोचक र उत्साह थपिएको उनले जानकारी दिइन् ।