उत्तम आचार्य
कन्चनरुप , १ माघ ।
नेकपा एमालेका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेलले आफ्नो पहिचान जोगाउनका लागि भाषा , संस्कृति , भेषभुषा , पहिरनको संरक्षण हुन आवश्यक रहेको बताएका छन् । सप्तरीको कन्चनरुप ३ बरमझिया सुब्बा टोलमा बिहीवार आयोजित सातौं माघी महोत्सवलाई सम्बोधन गर्दै प्याकुरेलले यस्तो आवश्यकता औल्याएका हुन् ।

उनले अहिले राम्रो कामको भन्दा नराम्रो कामको प्रशंसा हुनु भनेको समाजको लागि दुर्भाग्य रहेको बताए ।
नेता प्याकुरेलले फागुन २१ गतेको निर्वाचन सिंहदरबार जलाउने र बनाउने वीचको लडाइँ भएको बताएका छन् ।
उनले देश चरम संकटमा फँसेको भन्दै राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिए । देशमा वैदेशिक हस्तक्षेप बढेको भन्दै नेता प्याकुरेलले देश विकास र राष्ट्रिय हित नचाहनेहरुले देशमा विध्वंस मच्चाएको आरोप लगाए ।
‘देशमा विकासले गति लिइरहेको बेला मुलुकमा विकास र समृद्धि नचाहने देशी विदेशी शक्तिको आडमा सिंहदरबार र सर्वोच्च अदालतजस्ता प्रमुख प्रशासनिक भवनमा आगो लगाइयो’ उनले भने,’फागुन २१ गते को निर्वाचन सिंहदरबार र सर्वोच्च अदालत जलाउने वीचको लडाइँ हो, जनताले विवेक प्रयोग गर्नुपर्यो, सिंहदरबार जलाउनेलाई की बनाउनेलाई छान्ने हो ।”
उनले जेनजी आन्दोलनले देश २० बर्ष पछाडि ढकेलेकोले देश विकासका लागि एमालेका उम्मेदवारलाई विजयी गराउनुको विकल्प नरहेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रक व्यवस्थाले विकासको आधारभुत गति लिएको र यो प्रयाप्त भने नभएकोले यसलाई पूर्णता दिन बाँकी रहेको उल्लेख गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता प्याकुरेलले एकपटक मौका दिए सामाजिक, आर्थिक रुपमा मलाई भोट दिएर पछुतो मान्न नपर्ने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेका नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमनराज प्याकुरेलले फागुन २१ गतेको निर्वाचन सिंहदरबार जलाउने र बनाउने वीचको लडाइँको रुपमा लिनुपर्ने बताए ।
प्रमिला कुमारी चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख वसन्त मिश्रले अहिले कन्चनरुप नगरपालिकामा प्रमुख र उप प्रमुख बिचको द्वन्दले बिकासका काम ठप्प हुनुका साथै कर्मचारीहरुले समेत तलब खान नपाउने गरि काम गर्नु दुखको विषय भएको भन्दै चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा थाकसका सप्तरी सभापति भुपेन्द्र चौधरी , चौधरी फार्मेसिका प्रोपराइटर माधव चौधरी , समाजसेवी चन्द्रदेव चौधरी लगायतका बक्ताहरुले मन्तव्य ब्यक्त गरेका थिए ।
थारु सम्वत २६४९ शुरु भएकोले माघी पर्व भब्य रुपमा मनाएको आयोजकले जनाएको छ । सोही अवसरमा कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
बिजय चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत सुदर्शन चौधरीले गरेका थिए ।