सप्तरीको बलानविहुल गाउँपालिका १ स्थित सरस्वती बजारमा बिहीबार भव्यताको साथ प्रथम माघी महोत्सव २०८२ मनाइएको छ । बलानविहुल गाउँपालिकाको सहयोग तथा थारु कल्याणकारिणी सभा बलानविहुल गाउँपालिकाको आयोजनामा थारु समुदायको मौलिक साँस्कृतिक पर्व माघी पर्वको अवसरमा महोत्सव आयोजना गरिएको हो ।
थारु कल्याणकारी सभा बलानविहुल गाउँपालिका अध्यक्ष देवनारायण चौधरीको अध्यक्षता तथा बलानविहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवको प्रमुख आतिथ्य तथा उपाध्यक्ष रेणु कुमारी यादवको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
८३ बर्षिय ज्येष्ठ नागरिक अछमित लाल चौधरी सम्मान ग्रहण गर्दै । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले पहिलो पटक माघी महोत्सव आयोजना गरेकोमा खुशी व्यक्त गर्दै यसको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्मान ग्रहण गर्दै कलाकार गोपाल प्रसाद चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बलान बिहुल गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी यादव, थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी, जसपा नेपालकी नेता डा. बबी सिंह यादव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, प्रजातन्त्र सेनानी दुर्गानन्द शर्मा,स्थानीय बुद्धिजीवी गंगाराम यादव,अछमित लाल चौधरी, नरेन्द्र चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
मायाको चिनो ग्रहण गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव । फोटो : न्यूज टुडे
थारु अभियानता तथा नेता पूर्णप्रसाद चौधरी र रेणु चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत स्थानीय नाथु प्रसाद चौधरीले गरे भने माघी पर्वको विशेषता र महत्व बारे थारु कल्याण कारिणीसभाका केन्द्रीय पार्षद तुलसी थारुले प्रकाश पारे ।
मायाको चिनो ग्रहण गर्दै पत्रकार तामाङ । फोटो : न्यूज टुडे
उक्त अवसरमा बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, उपाध्यक्ष रेणु कुमारी यादव, थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य दिल कुमारी चौधरी, जसपा नेपालकी नेता डा. बबी सिंह यादव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङ, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरीलाई आयोजकले दोसल्ला ओढाएर सम्मान गर्दै बुद्धको तस्वीर मायाको चिनो प्रदान गरे ।
कार्यक्रममा ८३ बर्षीय अछमित लाल चौधरी, थारु गायक तथा कलाकार पन्नलाल चौधरी, हृदय नारायण चौधरी, गोपाल प्रसाद चौधरी, मायानन्द चौधरी, राम सिंह थारुलगायतका २ दर्जन राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुलाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
महोत्सवमा थारु पहिरनमा सजिएका राष्ट्रिय तथा स्थानीय कलाकारहरुले परम्परागत थारु पौराणिक गीत, नृत्य प्रस्तुत गरेका थिए ।