यसपालीको पुस महिना अधिकांश समय शितलहरमै वित्यो । प्राकृतिक प्रकोपकै रुपमा रहेको अत्यधिक चिसोको कारण विशेषतः तराई–मधेशका जिल्लाहरु बढी प्रभावित बन्न पुगेका छन् । अत्यधिक चिसो बढ्नाले विभिन्न गाउँपालिका तथा नगरपालिकाले केही दिनका लागि विद्यालयमा विदा नै दिनु परेको छ ।
पुस महिना सकिनै लाग्दा पनि चिसोको जोखिम अझै हटिसकेको छैन । माघ बाँकी नै रहेको र मौसम बिग्रेमा यस महिनामा पनि ठण्डी अत्यधिक हुन सक्ने सम्भावनालाई नकार्न मिल्दैन । ठण्डीका कारण सबै भन्दा बढी विपन्न वर्गले नै सास्ती खेप्नु पर्ने हुन्छ । काम नगरी खान नपाईने अनि अत्यधिक चिसोले काम गर्न नसकिने भएका कारण यस्तो याम विपन्नहरुका लागि ‘कहर’ सरह नै हुने गरेको छ । त्यसमाथि वृद्धवृद्धा र बालबालिका चिसोबाट बढी प्रभावित हुने भएका कारण उनीहरुको स्वास्थ्यरक्षा प्रति बढी सजगताको आवश्यकता पर्नु स्वाभाविकै हो ।
यस्तो असहज अवस्था धेरै दिनसम्म नरहला । तर जति समय सम्म प्रतिकूल रहन्छ, त्यस अवधिभर ठण्डीपीडितको सुरक्षा प्रति सरकार, सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्था जनप्रतिनिधि लगायत सबै पक्षले समन्वयका साथ काम गर्ने हो यस्तो विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण भन्ने अवश्य नै गर्न सकिने छ ।