रामनाथ चौधरी
राजविराज,२९ पुस ।
सप्तरीको अग्नीसाइर कृष्णासवन गाउँपालिका १ स्थित जण्डोलमा प्रथम माघी साँस्कृतिक महोत्सव २०८२ हुने भएको छ । थारु समुदायको मौलिक साँस्कृतिक पर्व माघी पर्वको अवसरमा ठाकुरजी माविको खेलमैदानमा माघ १ गते साँस्कृतिक महोत्सव आयोजना गरिने भएको हो ।
प्रथम माघी साँस्कृतिक महोत्सव २०८२ मुल आयोजक समितिका संयोजक पुष्पा चौधरीले स्थानीय महिलाहरुको सक्रियतामा महोत्सव आयोजना गर्न लागेको बताइन् । महोत्सवमा कलश यात्रा, झाकी प्रदर्शन, नाटक, कमिक, पौराणिक गीत संगीत प्रस्तुत गर्नुको साथै थारु परिकारको विभिन्न स्टलहरु राखिने जानकारी दिइन् ।
अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ को कार्यालय सहयोग तथा स्थानीय स्तरमा चन्दा संकलन गरी आयोजना गर्न लागिएको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताइन् । गाउँपालिका तथा आसपासको स्थानीय तहहरुबाट हजारौंको संख्यामा सहभागी हुने अपेक्षा गरिएको महोत्सवको उद्घाटन अग्नीसाइर कृष्णासवन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना चौधरीले गर्ने संयोजक चौधरीले जानकारी दिइन् ।
उनले विहान ८ बजे कलशयात्रा निकालेर प्रारम्भ हुने महोत्सव १० बजे मन्चीय कार्यक्रम हुँदै साँझ ५ बजे समापन गरिने बताइन् ।।
गाउँपालिका, स्थानीय प्रहरी, नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय सयौं युवाहरूलाई स्वयंसेवकको रुपमा तयार गरि सुरक्षा व्यवस्था मिलाइएको स्वयंसेवकका संयोजक कल्पना कुमारी चौधरीले बताइन् । सुरक्षा व्यवस्थालाई मजबुत पारिएकोले ढुक्कसंग सहभागीता जनाइ कार्यक्रमलाई सफल पारिदिन उनले आग्रह समेत गरिन ।
स्थानीय समेत रहेकी पूर्व विधायक सरस्वती चौधरीले थारु पौराणिक खानापिना,भाषा, भेषभुषा र संस्कृति जगेर्ना गर्ने उदेश्यले महोत्सव आयोजना गर्न लागेको बताइन् । उनले कार्यक्रममा थारु समुदायको साँस्कृतिक पर्व माघीको चिनारी र थारु समुदायको मौलिक संस्कृतिलाई उचाइमा पुर्याउन मदत पुग्ने विश्वास व्यक्त गरिन ।
महोत्सवमा सामाजिक विकृति न्यूनीकरण गर्न संदेश दिने नाटक, पौराणिक गीत संगीत स्थानीय महिला कलाकारहरुले प्रस्तुत गर्ने तथा थारु पौराणिक खाना घोगी,सितुवा,सिध्रा,तिल र भुजाको लडु,बगिया, तेलपाउ रोटी, माछामासु खानाको परिकारको स्टल र हलो, जुवा, कोदालो, जस्ता कृषि औजारहरु प्रदर्शनी गरिने जानकारी दिइन् ।
स्थानीय महिला कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम भएकोले अरु महोत्सवको तुलनामा फरक पाइने भएकोले थप रोचक र उत्साहजनक हुने उनले भनाइ छ ।