न्यूज टुडे,
राजविराज,२८ पुस ।
राजविराजमा सञ्चालन भइरहेको मैत्रीपूर्ण महिला क्रिकेट सिरिज अन्तर्गत सोमबार सम्पन्न खेलमा सप्तरीले काठमाण्डौलाई ६ विकेटले पराजित गर्दै विजय हासिल गरेको छ। सप्तरी क्रिकेट संघको आयोजनामा तथा सबल नेपालको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।
यससँगै तीन खेलको सिरिजमा दुवै टोलीले समान रूपमा एक–एक खेल जितेका छन्। सोमबार सम्पन्न दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डौले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ६९ रनको सामान्य योगफल खडा गरेको थियो। काठमाण्डौका लागि यासु पाण्डेले १६ रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेन।
सप्तरीका बलरहरूको कसिलो बलिङका कारण काठमाण्डौका ब्याटरहरू सस्तोमा आउट हुँदा ठूलो स्कोर बनाउन असफल भए।
सप्तरीका बन्दना रजक र दिपा रामले समान २/२ विकेट लिएका थिए भने साक्षी यादव, सचिता यादव र सुस्मिता यादवले १/१ विकेट हात पारे।
जवाफमा सप्तरी महिला क्रिकेट टोलीले ११ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। साक्षी यादव र सुस्मिता यादवले अविजित ४७ रनको साझेदारी गरेपछि सप्तरीको जित सहज बनेको थियो।
काठमाण्डौका बलर यासु पाण्डेले २ विकेट लिएकी थिइन् भने दुई खेलाडी रनआउट भएका थिए।
खेलको प्लेयर अफ दि म्याच साक्षी यादव घोषित भइन्।