नेपाली काँग्रेसको आईतबार र सोमबार काठमाण्डौंमा आयोजित विशेष महाधिवेशन यतिबेला राजनीतिक वृत्तमा सर्वाधिक चर्चाको विषय बनेको छ । नेतृत्व र नीति समेतमा परिवर्तनको आकांक्षा रहेका कारण संस्थापन पक्षले नचाहँदा नचाहँदै पनि सोचे भन्दा बढी संख्यामा विशेष महाधिवेशनमा सहभागिता रहेकै हो ।
कायृकर्ताको मनोभावनालाई आत्मसात नगर्दाको परिणामका रुपमा यसलाई लिनुपर्ने राजनीतिक विश्लेषकहरुको भनाई छ । नेतृत्व तहले तल्लो तहका कार्यकर्ताको भावनालाई बुझेर तदनुसार चल्न सक्नु पर्छ भन्ने सन्देश समेत यस विशेष महाधिवेशनले प्रवाह गरेको छ । मुलुकमा राजनीतिक अस्थिरताका साथसाथै बढ्दो अन्यौलताले गर्दा जनता उकुसमुकुसमा छन् । यही अन्यौलता र बढ्दो बेथितिका कारण मुलुकमा भविष्ष्य नदेखेर निराश भएका युवावर्ग विदेशिने क्रम बढ्को बढ्यै छ । बढ्दो भ्रष्टाचार, बेरोजगारी, महँगी लगायतका कारण बहुसंख्यक जनता आक्रान्त छन् । तर मुलुक बनाउने अठोत लिएर पदमा बसेकाहरुले जनता समस्यामा परिरहेका छन् भन्ने कुरालाई बुझ्न नचाहने हो भने उनीहरुप्रतिको भरोसा टुट्दै गएझै उच्च पदस्थ नेतृत्व तहले कार्यकर्ताको मनोभावनालाई समयमै बुझ्न नसक्दा उनीहरुमाथिको भरोसा पनि स्थलित भएर नजाला भन्न सकिन्न ।
तसर्थ जनता तथा पार्टीका कार्यकर्ताको मनोभाव आत्मसाथ गरेर अघि बढ्न सकियो भने मात्र विशेष महाधिवेशनको उपादेयता पनि मुखरित भएर जाने विश्वास गर्न सकिन्छ ।