• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ । यसै क्रममा निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेको छ ।
सरकारले पनि निर्वाचन सफल तुल्याउन राजनीतिक दलहरुलाई आग्रह गर्दै आएको छ । कतिपय राजनीतिक दलहरु प्रत्यक्ष,परोक्ष रुपमा निर्वाचन लक्षित कार्यक्रममा जुटेका छन् । यसै क्रममा केही दलमा भने फुट तथा मतविभेद बढ्न थालेको छ । यसै क्रममा एक पार्टीका नेता उक्त पार्टी त्यागेर अर्कोमा जाने क्रम पनि जारी छ । निर्वाचनमा टिकटकालागि नाम सिफारिस नभएका कारण कतिपयको चित्त दुखाई पनि नसुनिएको होईन । अरु कुरा भन्दा पनि पार्टी विभाजन हुने क्रम समेत देखिएका कारण यसले दललाई कमजोर तुल्याउने चिन्ता पनि थपिएको छ । लोकतन्त्रमा राजनीतिक दलमा फूट आउनुलाई शुभलक्षण मानिदैन । यसले दल कमजोर बनाउने भएका कारण त्यसलाई शुभलक्षणका रुपमा नलिईएको हो । पार्टीमा आउने विभाजन भनेको कार्यकर्ताको ठीक मूल्यांकन गर्नुको साटो काखापाखा गरिनु,नीति सिध्दान्तको परिपालना नगरिनु,आफ्नो भनाई जबर्जस्ती लादेर अरुका ठीक सुझावको पनि सुनुवाई नगरिनु लगायत अनेक कारणले यस प्रकारको अवस्था आउन सक्छ । नेतृत्व तहले यस कुरालाई ध्यानमा राखेर निष्पक्ष ढंगले काम गर्ने,पार्टीका अन्य साथीको उचित सल्लाहलाई आत्मसात गर्ने परिपाटी कायम राख्न सकियो भने यसले सामूहिक भावना अभिबृध्दिमा सघाउ पुर्याउँछ ।
तसर्थ पार्टीमा आउने बिचलनका पछाडि आफ्नो नाम पनि कारकका रुपमा जोडिएर आउन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।