नेपाली राजनीतिमा अहिले गठबन्धना संस्कृति विकसित हुँदै गएको छ । जेनजी आन्दोलन पूर्व नेकपा (एमाले), नेपाली काँग्रेस लगायत अन्य केही दल सम्मिलित गठबन्धनकै सरकार थियो । तर सामाजिक सञ्जालमाथि लगाईएको प्रतिबन्ध बढ्दो भ्रष्टाचार, नातावाद, कृपावादका विरुद्धमा जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा उक्त सरकार ढल्यो ।
प्रतिनिधिसभा समेत विघटन भई फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन निश्चित गरिएको छ । यस अघि माघमा हुने भनिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पनि दलहरुले गठबन्धन गरेका छन् । अघिल्लो संसदमा सबै भन्दा ठूलो दलका रुपमा रहेको नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) ले गठबन्धन गरेर सरकार बनाए । पहिलो र दोस्रो ठूलो दल दुवै सत्ताका लागि गठबन्धनमा सामेल भएको भन्दै विभिन्न कोणबाट यसका बारेमा टिकाटिप्पणी समेत नभएको होईन ।
विषयपरिस्थितिमा लोकतन्त्रको जगेर्ना तथा जनअधिकारका लागि परिवर्तनकारी दलहरुका बीच कहिलेकाहीँ गठबन्धन गर्नुलाई स्वाभाविक नै मानिएला । तर चुनाव नै जित्नका लागि फरक–फरक नीति सिद्धान्तका अनुयायी हमेशा गठबन्धनमै रहनुले उनीहरुले चुनाव जितेर आएपछि कुनचाहीँ नीति सिद्धान्तको प्रतिवादनका साथ काम गर्लान्? भन्ने प्रश्न उठ्नुलाई पनि अन्यथा भन्न सकिन्न । मुलुकको आवश्यकता भन्दा पनि स्वार्थवश वशिभूत भएर गरिने गठबन्धनलाई जनताले रुचाउलान् नै भन्न सकिन्न ।