सप्तरी जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दैआएका एक जना पत्रकार शनिबार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ सप्तरीले स्थापना गरेको ३० औ लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार विनयलाल कर्ण सम्मानित भएका हुन् ।
३२ औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
गोरखापत्र दैनिक सप्तरी प्रतिनिधि समेत रहेका कर्णलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वोय ललिता कुमारी साह र राजु विश्वकर्माले नगद ५ हजार ५ रुपैयाँसहित यो पुरस्कार प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा ३२औं लोकेन्द्र स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बिच प्रमुख अतिथि केन्द्रीय सदस्य द्वोय साह, विश्व्कर्मा र पुरस्कार छनौट समितिका संयोजक महासंघ पूर्व सभापति विष्णु कुमार मण्डलले नगद राशी, दोसल्ला र प्रमाण पत्रसहित कर्णलाई सम्मान गरे।
पुरस्कृत पत्रकार विनयलाल कर्ण । फोटो : न्यूज टुडे
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ४ निवासी कर्ण करिब डेढ दशकभन्दा अगाडिदेखि सक्रिय पत्रकारिता क्षेत्रमा आवद्ध छन् । उनी नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष समेत हुन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताइन् । पत्रकारिताको माध्यमबाट विभिन्न चुनौतीको सामाना गर्दै सामाजिक रुपान्तरणमा अतुलनीय योगदान पत्रकारहरुले गरिरहेको उल्लेख गर्दै उनले स्वच्छ सत्यतथ्य निर्भिकताको साथ सदाचारयुक्त सत्यको खोजी गरी समाचार सम्प्रेषण गर्न आग्रह गरिन।
‘पत्रकारिता नागरिकसंग जोडिएको विषय हो, सत्यतथ्यको खोजी गर्ने पत्रकारलाई सुरक्षा चुनौती पनि छ’ प्रमुख अतिथि साहले भनिन् ,’ स्वच्छ, निर्भीक, तथ्यपूर्ण न्याय सम्पादन गर्ने समाचार सम्प्रेषणमा चुनौतीपूर्ण छ।’
उनले अग्रजहरुले आर्जेको विरासत जोगाउन चुनौती थपिएकोले यसमा सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
‘नेपाली पत्रकारिता एसियाकै उत्कृष्ट र सप्तरीको पत्रकारिता देशकै मर्यादित जिम्मेवार रहेको दावी गर्दै आइरहँदा हामी त्यो विरासतलाई जोगाउन पर्ने थुप्रै चुनौती आइलागेको छ’ उनले भनिन् ‘यो देशमा मदन भण्डारीको मृत्युको छानविनसँगै पत्रकार लोकेन्द्र बुढाथोकीको रहस्यमय मृत्युको भिसेरा रिपोर्टको छानविन हुनुपर्छ ।’ उनले पत्रकारले सबै समस्याको समाधान गरिदिने अरु क्षेत्रमा थपिएको भ्रमले हाम्रो गरिमा झन घट्दै गएको बताइन् ।
अर्का प्रमुख अतिथि केन्द्रीय सदस्य विश्वकर्माले पत्रकारहरुको पक्षमा आफुले पनि निरन्तर काम गरिरहेको बताउँदै पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समयमा फेस बुकिया र युट्यवरले पत्रकार र पत्रकारिता पेशालाई बदनाम बनाएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई नियन्त्रण गर्ने दिशामा महासंघ अगाडि बढिसकेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व सभापति एवम् लोकेन्द्र बुढाथोकी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक विष्णु कुमार मण्डल, पूर्व सभापति मुरली प्रसाद यादव, केन्द्रीय परिषद सदस्य मनोज माझी, सतिष कुमार दत्त, वरिष्ठ पत्रकार सुरेन्द्र गुप्ता लगायले मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रेस मंच सप्तरीका अध्यक्ष धर्मपाल राउत , नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष एवम पुरस्कृत पत्रकार बिनय लाल कर्ण , प्रेस सेन्टर सप्तरीका अध्यक्ष विन्दु कुमार यादव, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, आदिवासी जनजाति पत्रकार महासंघ सप्तरी अध्यक्ष कृष्णा कुमार मण्डल लगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिव डम्बर राईद्वारा संचालित कार्यक्रमम स्वागत उपाध्यक्ष राम नारायण विश्वासले गरे भने धन्यवाद ज्ञापन अर्का उपाध्यक्ष सुधा देवले गरिन ।