• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा सोनाम ल्होछार धार्मिक विधि अनुसार फागुन ५ गते मनाइने

सप्तरीमा सोनाम ल्होछार धार्मिक विधि अनुसार फागुन ५ गते मनाइने
न्यूज टुडे
राजविराज,२५ पुस । 
तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व २८६२ औं सोनाम (ता-ल्हो) ल्होछार सप्तरीमा धार्मिक विधि अनुसार फागुन ५ गते मनाउने भएको छ ।  मञ्जुश्री सम्वत ( चन्द्र पात्रो) अनुसार  (ल्हो) बर्ष फागुन ५ गते फेरिने भएकोले सोही दिन धार्मिक विधि अनुसार सप्तरीमा ल्होछार मनाउने भएको हो । 
नेपाल तामाङ घेदुङ सप्तरीको शुक्रबार बसेको बैठकले विक्रम सम्वत (सुर्य पात्रो) अनुसार नेपाल सरकारद्वारा दिएको सार्वजनिक विदा माघ ५ गते सोनाम ल्होछारको स्वागतमा सार्वजनिक कार्यक्रम गरिने नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान सिंदन तामाङले बताए । तामाङ पात्रो अनुसार अतिरिक्त महिना (मलमास) थपिएकाले यसबर्षको सोनाम ल्होछार १ महिना पछि सरेकोले जिल्लामा धार्मिक विधि अनुसार फागुन ०५ गते मनाइने उनले जानकारी दिए । 
संघीय घेदुङको परिपत्र अनुसार जिल्लामा सोनाम ल्होछार मनाउने तयारी गरिएको बताउँदै उनले नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन माघ ५ गतेदेखि र सो आसपास मिति देखि ल्होछार सम्बन्धि शुभकामना आदानप्रदान, सार्वजनिक समारोह, महोत्सव, भेला, पिकनिक जस्ता अन्य विशेष कार्यक्रम गरि महिना भरी ल्होछारको स्वागत गरिने जानकारी दिए । 
चन्द्र पात्रो अनुसार ल्हो( बर्ष) फेर्ने दिन वि.सं २०८२ फागुन ५ गते परेको हुँदा घरमा गरिने (लुङ्दोर,दज्यु,पूजापाठ ग्रहशन्ती, टीका, भेटघाट, खानपिन आदि) गरी मौलिक परम्परा बमोजिम २०८२ फागुन १० गतेसम्म पाँच दिन ल्होछार मनाइने घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम घिसिङले बताए । 
घिसिङका अनुसार ल्हो फेर्ने अघिल्लो साँझ आयोजना गर्ने पुरानो बर्षको विदाई र नयाँ ल्होछारको स्वागत गर्दै ल्हो फेर्ने तिथिमा कुबेरको पूजा गरिने छ ।  यसरी पूजा गर्दा जानीनजानी गरेको पापबाट मुक्ति पाइने तथा आफूले बर्षभरी कमाएको धन सम्पत्तिको संरक्षण र सह बस्ने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।
यसैगरी ल्हो फेर्ने दिन घरघरमा लुङ्दोर, दज्यु, लुङ्ता फहराएर कुलदेवतालाई खदा, अक्षता, टोटलाको फुल, फलफुल चढाइन्छ । यसरी चढाएको सामाग्री घरमुलीले आफ्ना सन्तानहरुलाई  कुल देवताको प्रसादको रुपमा टीका र खदा लगाएर आर्शिवाद दिने  तथा  ल्होछारको टीका प्रारम्भ गर्ने परम्परा रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले बताए । 
यसरी मान्यजनको हातबाट टीका खदा ग्रहण गरी पाँच दिनसम्म निरन्तर चल्ने तथा यसले बर्षभरी घरपरिवारमा सुख,शान्ति हुने, सम्पूर्ण इच्छा पूरा हुने र पुण्य प्राप्ति हुने धार्मिक मुल्यमान्यता रहेको उनले जानकारी दिए ।