लगातारको शितलहरले सप्तरीमा पनि जनजीवन नराम्रोसित प्रभावित हुन थालेको छ । पछिल्लो पटक मंगलबार तिलाठी कोईलाडी गाउँपालिका वडा नं.६ निवासी ५३ बर्षिय महेन्द्र मरिकले चिसोका कारण ज्यान गुमाएका छन् ।
मधेशका दलित मध्ये पनि सबै भन्दा विपन्न मानिने मरिक (डोम) जाति उसैपनि भूमिहीन रहँदै आएका छन् । महेन्द्र पनि पोखरी डिलको ऐलानी जग्गामा झुप्रो बनाएर बस्दै आएका थिए । टिन छाएको छाप्रोमा चिसो छल्न नसक्दा यही नै उनको मृत्युको कारण बनेको छ । अति विपन्न रहेका कारण मरिक परिवारमा यति बेला क्रिया खर्च जुटाउन पनि समस्या छ । स–साना बालबालिकाको लालन पालनको चुनौति समेत छ । महेन्द्रको परिवारमा ठण्डीबाट जोगिने व्यवस्था हुन सकेको भए शायद उनले यसरी अकालमै ज्यान गुमाउनु पर्ने थिएन होला । यस्ता कुराको व्यवस्था आफ्नो क्षमताबाट गर्न उनको सामथ्र्य थिएन र त्यही कारणले उनी ठण्डीको चपेटामा परे भनेर बुझ्न सकिन्छ । आकाश क्षेत्रका महेन्द्र जस्ता अति विपन्नहरुको परिवार लगातारको ठण्डीबाट कसरी प्रभावित बनेका छन् भने कुराको चासो स्थानीय तहका जनप्रतिनिधिहरुले पनि लिनु पर्ने हो । तर आफ्नो सुविधाका लाग ठूलो रकम खर्च गर्न सक्ने जनप्रतिनिधिहरुले ठण्डी पीडित जनताका लागि चाहीँ नसोचिदिने हो भने उनीहरुलाई कसरी जनसेवी भन्न सकिएला? प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न सकिन्न ।
ठण्डी अहिले पनि जारी नै छ । यस कारण अरुले पनि ज्यान गुमाउनु पर्ने अवस्था नआओस भन्नका लागि बेलैमा सोच्न जरुरी छ ।