आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ महुलीको २०औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दीपेन्द्र कुमार आचार्यको अध्यक्षता तथा अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक समारोहका वीच बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यबाहक अध्यक्ष चौधरीले सहकारीले वित्तीय तथा पशुपालन क्षेत्रमा गरेको योगदानको प्रशंसा व्यक्त गरिन । सहकारीले समग्र विकासमा उदाहरणीय कार्य गरेकोमा खुशी हुँदै उनले गाउँपालिकाबाट प्रदान गरिने सेवासुविधामा पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन ।
अग्नीसाइर कृष्णासवन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र कुमार यादवले सहकारीको काम गर्ने शैली र पारदर्शिता सबल पक्ष भएको उल्लेख गर्दै सहकारीबाट माग भएको दुध टंकी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
साधारणसभामा सहभागीहरु । फोटो : न्यूज टुडे
संतोषी पार्टी प्यालेस मोहनपुरको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका प्रमुख् संरक्षक भुवन आचार्य, अग्नीसाइर कृष्णासव्रन गाउँपालिका ६ का वडाध्यक्ष अशोक कुमार आचार्य,नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ, अमसोत सामुदायिक कृषि सहकारी संस्थाका अध्यक्ष सरिता योन्जन तामाङ,गाउँपालिका स्तरीय सहकारी समन्वय समितिका संयोजक रामी यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
साधारणसभामा अध्यक्ष आचार्यले संचालक समितिको तर्फबाट अध्यक्षीय, सदस्य सचिब एवम् व्यवस्थापक बोधराज सुवेदीले भावी नीति तथा अनुमानित बजेट सम्बन्धि प्रतिबेदन, लेखापाल राज कुमार आचार्यले कुल रु ७९ करोड ४३ लाख २७ हजार १ सय २ रुपैया आयव्यय तथा आब २०८२/०८३ को रु २७ करोड ११ लाख ५२ हजार ६५ रुपैया सहितको लेखापरीक्षण प्रतिबेदन प्रस्तुत गरे ।
यसैगरी लेखा समिति सदस्य कविता ओलीले लेखा प्रतिबेदन, आदर्श माविका अध्यक्ष दुर्गा प्रसाद भट्टराईले विद्यालय व्यवस्थापन उपसमितिको प्रतिबेदन, दुध संकलन प्रशोधन तथा बजारीकरण उपसमितिका संयोजक नारायण कुमार काफ्लेले दुध संकलन प्रशोधन तथा बजारीकरण, उपभोक्ता भण्डार संचालन उपसमितिका संयोजक डिक बहादुर मगरले उपभोक्ता भण्डार संचालन प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिबेदनमाथि बिहीवार बन्दसत्रमा दफावार छलफल गरि परिमार्जनसहित पारित गरिने संस्थाका अध्यक्ष आचार्यले बताए । संस्थाका सदस्य सचिव एवम् व्यवस्थापक बोधराज सुवेदीद्वारा संचालित कार्यक्रममा स्वागत संस्थाका संचालक समिति सदस्य डम्बर बस्नेतले गरे ।