नव युवा एकता क्लबद्वारा सप्तरीको कञ्चनरुप नगरपालिका ५ प्रिप्रापूर्वमा संचालित १६ औं पचशिल्ड फुटबल प्रतियोगिताको उपाधि ‘युनिटी एफसी विरेन्द्र बजार’ ले हात पारेको छ । स्थानीय खेलमैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भगनी मलेट फुटबल क्लबलाई २-४ गोलान्तरले पराजित गर्दै युनिटी एफसी विरेन्द्र बजारले उपाधिमाथि कब्जा जमाएको हो ।
विजेता टिमका खेलाडीहरु । फोटो : न्यूज टुडे
दुबै टिम वीच कडा प्रतिस्पर्धा रहेको निर्धारित ६० औं मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसकेपछि ट्राइबेकरमा खेलको छिनोफानो गरिएको थियो ।
पलान्टीमा युनिटी एफसीका खेलाडीले प्रहार गरेको चार गोल सबै गोलमा परिणत भएपनि भगनीले प्रहार गरेको एक गोल गोलरक्षकले छेक्न सफल भएका थिए भने एक बल पोल बाहिर गएका थिए ।
पलान्टीमा युनिटी एफसीका भिम तामाङ, आयुष तामाङ, निकेन राई र आयुष राइले गोल गरे भने भगनीका सनम चौधरीले प्रहार गरेको बल युनिटी एफसीका गोलरक्षकले छेक्न सफल भए थिए र सुनिल सिंह दनुवारले प्रहार गरेको बल पोल बाहिर गएको प्रमुख रेफ्री अजय चौधरीले जानकारी दिए ।
खेलको बेष्ट गोलकिपर युनिटी एफसीका गोलरक्षक संदिप ओझा, म्याद अफ द म्याच सुदिप चौधरी, बेष्ट स्कोरर भगनीका सुनिल सिंह दनुवार, र बेष्ट प्लेयर रोशन चौधरी घोषित भएका छन् । उनीहरुलाई ट्रफीद्वारा सम्मान गरिएको थियो ।
खेलका विजेता तथा उपविजेता टिमलाई क्रमशः नगद २५ हजार र १५ हजारसहित शिल्ड, कप, मेडलद्वारा पुरस्कृत गरिएको थियो ।