मुलुक संघीयतामा गएको मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा सञ्चालित छ । धर्मनिरपेक्षता, समावेशीता समेतको ग्यारेण्टी वर्तमान संविधानले गरिसकेको छ ।
यस्तो लोकतान्त्रिक व्यवस्था रहँदा रहँदै पनि मुलुकमा फरक धर्मका नाममा अनेकन विवाद बढ्ने गरेका छन् । यसै क्रममा सामाजिक सञ्जालमा एक धर्मावलम्वीले अर्कोमाथि अनास्था फैलाउने, विद्वेष निम्तयाउने खालका आपत्तिजनक अभिव्यक्ति दिने गरेका कारण ठाउँ–ठाउँमा अवस्था उग्र बन्दै गएको छ । यसको पछिल्लो कडीका रुपमा वीरगञ्जको वर्तमान अवस्थालाई लिन सकिन्छ । वीरगञ्जमा सोमबार जारी भएको कफ्र्यु आदेश मंगलबार दिनभरि पनि जारी रह्यो । बहुधार्मिक, बहुभाषिक तथा बहुसांस्कृतिक साझा स्थलका रुपमा रहेको मुलुकमा एकले अर्काको धार्मिक भावनामाथि आघात पु¥याउने यस्तो गतिविधिलाई कुनै पनि हिसाबले उचित भन्न सकिन्न । यस प्रकारका दुष्कार्य कसैले पनि गर्न मिल्दैन । आपसी एकतामा भाँजो हाल्ने, विद्वेष र घृणा फैलाउने कार्य असामाजिक, भएका कारणले त्यस्तो गर्नेमाथि तत्कालै कारवाही चलाउनु पर्ने हुन्छ । यस्ता अवाञ्छित गतिविधिमा लागेकामाथि छुट दिईरहने हो भने उसले भविष्यमा अर्को असामाजिक हर्कत गर्न सक्दछ । समाजमा शान्ति सुरक्षा बहाली तथा आपसको एकतालाई नै भाँडनेमाथि कारवाही नगर्ने हो भने बीरगञ्ज जस्तै तनाव अन्यत्र नसर्ला भन्न सकिन्न ।
सामाजिक सञ्जालमार्फत वा अन्य माध्यमले अभिव्यक्ति दिँदा अरुको भावनामाथि आघात पुग्ने हिसाबले कुरा राख्नु किमार्थ उपयुक्त हुन सक्दैन । शिष्टता र मर्यादा उल्लंघन गरेर हुने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।