• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राष्ट्रियसभा निर्वाचनमा दिनानाथ चौधरीले भोट हाल्न नपाउने

राष्ट्रियसभा निर्वाचनमा दिनानाथ चौधरीले भोट हाल्न नपाउने
न्यूज टुडे
राजविराज,२२ पुस ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा अग्नीसाइर कृष्णासवन गाउँपालिकाका निवर्तमान अध्यक्ष दिनानाथ चौधरीले भोट हाल्न नपाउने भएको छ । निर्वाचन आयोगले उनको नाम मतदाता नामावली सूचीबाट हटाएपछि चौधरी मतदानबाट बन्चित भएका हुन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ निर्वाचन अधिकृतको कार्यालय मधेस प्रदेश जनकपुरले चौधरीको नाम मतदता नामावलीबाट हटाइएको जानकारी गराएको छ । 
चौधरीले पदबाट राजिनामा दिएको भनी परेको उजुरीमाथि छानबिन गरी पुस २२ गते बसेको बैठकले उनको नाम सुचीबाट हटाउने निर्णय भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 २०८२ असोज ०५ गते अध्यक्ष चौधरीले पदबाट राजिनामा दिएको तथा उक्त राजिनामा २०८२ कार्तिक १८ गते स्वीकृत भएको र उनी अहिले अध्यक्ष पदमा बहाल रहेको भन्ने नदेखिदा निजको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन अधिकृत शुभाषबाबु पुरीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । 
 मतदाता नामावलीबाट नाम हटाएपछि चौधरीले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । 
अध्यक्ष चौधरीसहित राष्ट्रिय सभाको निर्वाचनमा पाँच जना प्रदेश सांसद र ८ जना स्थानीय तहका पदाधिकारीले भोट हाल्न नपाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार उनीहरूमध्ये केही पदमुक्त भएका छन् र केही निलम्बनमा छन् । यसकारण उनीहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।
राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । 
स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एक जना र निलम्बनमा परेका चार जना गरी जम्मा पाँच जना प्रदेशसभा सदस्यको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन ।
यस्तै स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एक जना, राजिनामा दिएका एकजना र निलम्बनमा रहेका सात जना गरी जम्मा ९ जना स्थानीय तहका पदाधिकारीको नाम पनि मतदाता नामावलीमा समावेश गरिएको छैन ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९७ जना गरी जम्मा २०४२ जनाले मतदान गर्न पाउने छन् । यो प्रारम्भिक मतदाता नामावलीको तथ्यांक हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रक्रिया यही पुस १९ गतेबाट सुरु  भएको थियो । 
आयोगकाले पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरेका थिए । पुस २० गते दिउँसो ४ बजेसम्म प्रकाशित नामावलीमा नाम छुट भएका व्यक्तिले नाम समावेश गर्न दरखास्त दिने, नाम सच्याउन दरखास्त दिने वा नामावलीमा रहेका मतदाताको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।
यसरी परेको निवेदन तथा उजुरीमाथि पुस २१ र २२ गते छानबिन गरी आयोगले पुस २२ गते दिउँसो ३ देखि ४ बजे भित्र अन्तिम मतदाता नामावली प्रकाशन गरेका छन्।
कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ । त्यसपछि १ देखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ र पुस २८ गते बिहान १० देखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आगामी माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको आयोगले जनाएको छ ।
२०७६ फागुनमा निर्वाचित भएर आएका राष्ट्रिय सभा सदस्यहरू बिदा हुन लागेका हुन् । राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुन्छ ।
यस पटक कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २–२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने निर्वाचन अधिकृत पुरीले जानकारी दिए ।