• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्छु : मन्त्री सुमन

राजबिराज बसपार्क सञ्चालनका लागि पहल गर्छु : मन्त्री सुमन
न्यूज  टुडे
राजबिराज,२१ पुस । 
मधेश प्रदेश सरकारका नव नियुक्त श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमनले राजविराज बसपार्क संचालनमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, राजबिराज नगर समितिद्वारा सप्तरीको राजबिराजमा सोमबार आयोजित स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । 
राजबिराज नगरपालिका वडा नम्बर  २ स्थित सभाहलमा आयोजना गरिएको स्वागत तथा अभिनन्दन कार्यक्रममा नगरवासी, नेता तथा कार्यकर्ताहरूले मन्त्री सुमनलाई फुलमाला लगाई भव्य स्वागत तथा अभिनन्दन  गरेका थिए।
कार्यक्रममा बोल्दै मन्त्री सुमनले राजबिराज बसपार्क सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको, यातायात व्यवसायीहरू पनि तयार रहेको तर अझैसम्म सञ्चालन नभएकोप्रति चासो व्यक्त गरे। उनले बसपार्क सञ्चालन नहुनुमा कावा नगरप्रमुखसहित सबै वडा अध्यक्षहरूले जवाफदेहिता लिनुपर्ने बताए।
मन्त्री सुमनले राजबिराज बसपार्क सञ्चालनमा ल्याउन आफूले आफ्नो तर्फबाट हरसम्भव पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नगर क्षेत्रमा सिटी बस सञ्चालन गर्न चालकहरूका लागि लाइसेन्स प्रक्रिया केही खुकुलो बनाइनुपर्नेमा जोड दिए। उनले सिटी चालकहरू लिखित परीक्षामा बढी फेल हुने गरेको उल्लेख गर्दै यातायात कार्यालय मार्फत लाइसेन्स प्रक्रिया सहज बनाउने उद्घोष गरे।
जसपा नेपालका प्रवक्ता समेत रहेका मन्त्री सुमनले फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन कुनै बहानामा नरोकिने जिकिर गरे। उनले चुनावको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई सबै वडा र पालिकाहरूमा सक्रिय रूपमा परिचालन हुन आग्रह गरे।
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले फाल्गुन २१ गते हुने निर्वाचनलाई संघीयताको रक्षा तथा प्राप्त उपलब्धिहरूको संरक्षणको अभियानका रूपमा लिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले मन्त्री सुमनले जनताको हितमा काम गर्दै सरकारको प्रभावकारिता बढाउने विश्वास व्यक्त गरे।
जसपा नेपाल सप्तरीका अध्यक्ष केदार यादवले यातायात व्यवसायीहरूको अगुवाइमा बसपार्क सञ्चालन गर्ने वातावरण बनाउन मन्त्री सुमनसँग आग्रह गरे।
कार्यक्रममा मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देव, जसपा केन्द्रीय सदस्य रमिला साहले सफल कार्यकालको शुभकामना दिँदै जनअपेक्षाअनुसार काम गर्न सुझाव दिए।
जसपा नेपाल राजबिराज नगर समिति अध्यक्ष अरुण कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका पूर्व मन्त्री ज्ञानेन्द्र यादव, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश   प्रसाद यादव, जसपा केन्द्रीय सदस्य पुनम यादव, जसपा जिल्ला उपाध्यक्ष हरेराम यादव, पार्टीका नेता सुरेन्द्र प्रसाद यादव, राजबिराज नगरपालिका वडा नम्बर २ का वडा सदस्य बिहारी साह लगायतको उपस्थिति रहेको थियो।