न्यूज टुडे
राजविराज,२० पुस ।
मुश्लिम समुदायमाथि भएको शृङ्खलाबद्ध आक्रमणको घटनाको विरुद्ध राजविराजमा आइतबार मुश्लिम समुदायले प्रदर्शन गरेका छन् । नेपाल मुश्लिम समाज सेवा राजविराज सप्तरीको नेतृत्वमा विभिन्न नारा उल्लेख प्लेकार्डसहित उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट अनस खानको नेतृत्वमा चर्को नारावाजी गर्दै गरिएको विरोध प्रदर्शन स्थानीय दशन ( नेता) चौकमा पुगेर सम्पन्न भएको थियोे । उनीहरुले सरकार विरुद्ध चर्को नारा जूलूस गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै मुश्लिम अगुवाहरुले मुश्लिम समुदाय र इश्लामधर्म प्रतिको कुनै पनि बहानामा हुने आक्रमण सहनीय नहुने बताए । उनीहरुले विदेशीको इसारामा धार्मिक द्वन्द्व निम्त्याउन खोजिएको भन्दै शृङ्खलाबद्ध आक्रमणको घटना नरोकिए प्रतिकारमा उत्रिने चेतावनी दिए ।
बक्ताहरुले आक्रमणमा संलग्नहरुमाथि कडा कानूनी कारबाहीको माग गर्दै शान्तिपूर्ण आन्दोलनबाट माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
संविधानलाई चुनौती दिने गरि हुने उछृङखल गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले नेपालको संविधान २०७२ को धारा १८ र १६ (२) द्वारा प्रदत्त संबैधानिक अधिकारको रक्षा गर्न जोडदार माग गरे ।
उनीहरुले २०८२ पुस १९ गते धनुषाको कमलामाई नगरपालिका ६ सखुवा मरान स्थित मुश्लिम गाउँमा रहेको मज्जितमा प्रवेश गरि तोडफोड र धार्मिकग्रन्थ कुरान पाकलाई जलाएको घटनाको कडा शब्दमा विरोध गरेका छन् ।
इश्लाम धर्म र मुश्लिम समुदायलाई लक्षित गरि धार्मिक विरोध र गैर कानूनी कार्यहरु केही अपराधिक व्यक्ति र विदेशी नागरिकबाट हुँदै आएको दावी गर्दै प्रदर्शनकारीहरुले यसलाई नियन्त्रणमा सरकार गम्भीर नदेखिएको गुनासो गरे ।
यसअघि उनीहरुले धनुषाको मुश्लिम गाउँको मज्जितमा भएको घटना संलग्नलाई अविलम्ब पक्राउ गरि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका छन् ।