• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पुसी पुर्णिामाको अवसरमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो

पुसी पुर्णिामाको अवसरमा कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो
उत्तम आचार्य
कञ्चनरूप, १९ पुस ।
सप्तरीको कोशी व्यारेजमा स्नान तथा मेला भर्न आउनेहरु घुइँचो लागेको छ । हरेक वर्ष झै शुक्ल पूर्णिमा अर्थात पुसी पूर्णिमाको अवसरमा बिहिवार बिहानैदेखि कोशी स्नान गर्ने तथा मेला भर्नेको  घुइँचो लागेको हो ।
चिसोका बाबजुद सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह स्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरूको घुइँचो लागेको स्थानीयले जनाएको छ । यहाँ बिहानै कोशीलगायतका जलासयमा नुहाएर मिठोचोखो खाने चलन रहँदै आएको स्थानीयले बताए । 
कोशी ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ, भारतको पूर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरूबाट कोशी स्नान गर्न आएको स्थानीय रवि शर्माले जानकारी दिए । उनका अनुसार बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरूको दिनभरि घुइँचो लाग्ने गर्दछ ।
कोशी नदीलाई कौशिका माताका रूपमा पूजा गर्ने चलनअनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने विश्वास रहिआएको छ । यस दिन मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरीसहितका मिठाइहरू खाने प्रचलन छ ।
मेलामा कुनै किसिमको अप्रिय घटना हुन नदिन सुरक्षा ब्यवस्थामा समेत कडाइ गरिएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मुख्य सडकमै पर्ने कोशी ब्यारेज परेको हुनाले कोशी मेलामा सुरक्षित एवम् सहज तरिकाले मेला गर्ने उद्देश्यले व्यवस्थित गर्न ट्राफिक प्रहरी पनि परिचालन गरिएको जनाइएको छ ।
विशेष गरी जिल्लाको भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहास्थित मेग्जिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित धनकट्टा, कन्चनरुप ५ स्थित पथरी हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानहरूमा समेत भव्य मेला लागेको छ ।
कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरूको खरिद बिक्रीका लागि महत्त्वपूर्ण मानिन्छ । यस कारणले पनि कृषकहरुको कोसी मेलामा बढी उपस्थिति हुने गरेको स्थानीयहरू बताउँछन् ।
पौष शुक्ल पूर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको स्थानीयले जानकारी दिए  । 
उक्त अवसरमा सप्तरीको सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, राजविराज नगरपालिका, अग्नीसाईर कृष्णासवरन गाउँपालिकालगायत एक दिनका लागि बिदा दिएको छ । 
स्थानीय तहहरुले बुधबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पुसी  पूर्णिमाका अवसरमा बिदा दिएको जनाइएको छ ।