उत्तम आचार्य
कन्चनरुप , १७ पुस ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै सप्तरीको ऐतिहासिक धर्मेश्वर महादेव धारापानी पिकनिक स्थल । केहि बर्षअघिसम्म सप्तरीबासीलाई वनभोज कार्यक्रम आयोजना गर्नुपर्दा जिल्ला बाहिरका पिकनिक सेन्टर चहार्ने क्रम व्याप्त थियो ।
पूर्वका बिभिन्न जिल्लाका वनजोज स्थल साथै पश्चिम धेरै टाढासम्म सप्तरीवासी जाने गरे पनि अब अवस्था फेरिएको छ । जिल्लामै उत्कृष्ट पिकनिक स्थलको निर्माण भइसकेको छ । पछिल्लो केहि बर्षमै राम्रो सेन्टरको रुपमा विकसित भएको छ कंचनरुप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी ।
सप्तरीबासीसँगै सिरहा, उदयपुर, सुनसरी, बारा , पर्सा , सर्लाही , रुपन्देही , काठमाडौ , झापा , धनकुटा , मोरङका बासिन्दाको मात्र नभई भारतको बिहार राज्य अन्तर्गतका बिभिन्न ठाउँका बासिन्दाको उत्कृष्ट गन्तव्य बनेको छ धारापानी ।
प्राकृतिक रुपबाट यहाँ धारा उत्पति भएको र यो ठाउँ अति नै मनोरम भएका कारण पिकनिक स्थलसंगै पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको छ । नयाँ बर्ष सन् २०२६ को पहिलो दिन २ सय ५० भन्दा बढी समूह पिकनिक मनाउन यस ठाउँमा आएका छन् ।
यो ठाउँलाई जहिल्यै पनि सफासुग्घर राखिदैं आएको छ । यसले गर्दा पनि पर्यटकहरुको आकर्षण स्थल बन्न सफल भएको स्थानीय धर्मेश्वर महादेव पर्यटकीय समितिका अध्यक्ष लिलबहादुर मगर बताउँछन् ।
उनी भन्छन्, ‘यो ठाउँ धेरै रमणीय भएको हुँदा पछिल्ला बर्षहरुमा वनभोज गर्न आउनेहरुको संख्या बढ्दै गएको छ ।’
यस ठाउँमा पिकनिक आयोजना गर्न आएका भारत विरपुरका मनो साह धेरै ठाउँमा वनभोज खान जाँदा यहाँ जस्तो सुविधा सम्पन्न कुनै ठाउँमा नरहेकोले विगत १० वर्षदेखि यस ठाउँमा आइरहेको सुनाए ।भारत भीमनगरका जितेन्द्र सिंह पिकनिक मनाउने ठाउँहरु अति नै फोहोर बन्दै गएपनि यो ठाउँ पूर्ण रुपमा सफा पाएको बताए ।
बिहिवार नयाँ बर्ष मनाउन यहाँ आएका उनले भने, ”यहाँको नाम सुनेका थियौं, पहिलो पटक आउँदा सुनेजस्तै मनोरम दृश्यहरु हेर्न पायौं ।”
बिरगंजबाट नयाँ बर्ष मनाउन धारापानी आएका बिनोद शर्माले दाउरा, पानी पाइने र मनोरम दृश्यहरु समेत भएकाले यहाँ एकदमै राम्रो महसुस गरिएको बताए ।
काठमाडौंबाट बनभोज खान आएका गिरिराज संग्रौला भन्छन ‘यहाँ धार्मिक स्थल , प्राकृतिक धारा , हरियाली जंगलले गर्दा पनि पर्यटकहरु लोभिन गइ यहाँको आकर्षण बढेर गएको हो ।’
के-के छन् धारापानीमा ?
पूर्व पश्चिम राजमार्गदेखि झण्डै डेढ किलोमिटर उत्तरी भेगमा रहेको छ धारापानी क्षेत्र । यहाँ डाडाकाँडा, जीवजन्तु, पानीको धारासहितका मनोरम दृश्यहरु रहेको छ ।
धारापानीभित्र रहेका दोभान, परेवाभीर, सल्हेश पिढिया, सुगाखोलि ,कुन्ता माइ , हरीण दह, सोली घोप्टे, तिरतिरे धारासहितका ठाउँहरु पनि छन् । यी सबै ठाउँहरुमा बुधबार नयाँ बर्ष मनाउने तथा रमाइलो गर्नेहरुको भीड व्यापक लागेका थियो ।
यहाँ प्राकृतिक रुपले उत्पति भएको एउटा ठूलो र तीन वटा सानो धारा छ । यी धाराहरुबाट हरेक समय पानी आउने गर्दछ ।
‘पानीका लागि यहाँ कुनै समस्या छैन’ धर्मेश्वर महादेव पर्यटकीय समितिका अध्यक्ष मगरले भने, ”धारापानीभित्र बिभिन्न ठाउँमा बस्ने, खाना पकाउने, नाच्ने ठाउँहरु भएकाले यहाँ आउनेहरुको संख्यामा बृद्धि हुँदै गएको छ ।’
यहाँको दृश्य हेरेर मन प्रफुल्लित हुने गरेको बताउँछन् आउने पर्यटकहरु । कुनै विशेष दिन मात्र नभई अन्य दिन पनि यहाँ घुम्न आउने र पिकनिक मनाउन आउनेहरुको संख्यामा कमी हुँदैन् । व्यापक भिंड भएपनि
हालसम्म कुनै घटना यहाँ नभएको मगरले बताए । भीड बढेपछि प्रहरी पनि यहाँ गस्ती गर्दै आएका छन् ।
खासगरी दशैं तिहार सकिए लगत्तै देखि माघ महिना सम्म यहाँ बनभोज खानेहरुको भिडनै लाग्ने गर्दछ ।
अरु सालको भन्दा यसपालि बढी मात्रामा बनभोज खान आएको मगरले बताए ।
दशै तिहार सकिए लगत्तै यश ठाउँमा दिनको २०/३० ग्रुप बनभोज खान आएको र धर्मेश्वर महादेवको दर्शन गर्ने , टिकटक बनाउने , फोटो खिच्नेको त लर्को नै लागेको थियो मगरले भने ।
जनप्रतिनिधिहरुको प्रतिबद्वता
पर्यटकीय क्षेत्रमा विकास हुँदै गएको सप्तरीको धारापानी क्षेत्रलाई राम्रो बनाउन लागिपर्ने जनप्रतिनिधिहरु प्रतिबद्वता व्यक्त गर्छन् ।
कञ्चनरुप नगरपालिका मेयर ललन प्रसाद गुप्ता प्राकृतिक सौन्दर्यताले भरिएको र पर्यटकको दिनहु रोजाइमा परेको यस पर्यटन क्षेत्रलाई अझ व्यवस्थित बनाउनका निम्ति काम गर्ने बताए ।
उप-मेयर मुनाकुमारी पोखरेल यो पर्यटन क्षेत्र नगरपालिकाको मात्र नभएर देशकै नमूना पर्यटन स्थल भएकाले यसको अझै विकास गर्न काम गर्ने बताइन् ।
कन्चनरुप नगरपालिकाका पुर्व नगर प्रमुख बसन्त मिश्रले यश पर्यटन क्षेत्रको बिकास आफ्नै पालामा आफुले शुरूवात गरेकोले यसको बिकासमा आफू सक्रिय रुपमा लाग्ने बताए ।
कञ्चनरुप नगरपालिकाका वडा नम्बर १२ का अध्यक्ष देवी बहादुर खत्रीले यस पर्यटन क्षेत्र नगरको मात्र नभएर देशकै सम्पत्ति भएको हुनाले यसको संरक्षण सम्बर्द्वन र विकास गर्न आफू लागि पर्ने बताए ।
यस पर्यटन क्षेत्रलाई आगामी दिनमा ताल बनाई बोट सन्चालन गर्ने, चिल्ड्रेन पार्क स्थापना गर्ने, झरना बनाउने र यसको विकासलाई तिब्र गतिमा अगाडी बढाई बढी भन्दा बढी पर्यटक भित्र्याउन सक्रिय भएर लाग्ने धर्मेश्वर महादेव मन्दिर तथा धारापानी पर्यटन क्षेत्रका अध्यक्ष मगरले बताए ।
‘हामीले अप्रिय घटना नहोस भनेर स्वयम् सेवक र सुरक्षाकर्मी समेत परिचालन गरेको छौं।’ अध्यक्ष मगरले भने ।