• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजनीतिक दलहरुलाई अहिले चुनावको चटारो विस्तारै बढ्न थालेको छ । 
चुनावलक्षित गतिबिधि बढ्न थालेका कारण त्यसमै उनीहरुको सक्रियता बढी देखिन थालेको हो । कतै सभा,कतै पार्टी प्रबेश त कतै एकता घोषणा सभा जस्ता कार्यक्रम बढ्न थालेका छन् । ती कार्यक्रममा शीर्षस्थ नेताहरुले सम्बोधन गर्दै आफ्ना भनाई सार्वजनिक गर्दै आएका पनि छन् । लोकतन्त्रमा यसरी जनताका सामु गएर आफ्ना धारणा र कार्यक्रम राखिनुलाई सुन्दर पक्ष नै मानिन्छ । यसका बाबजुद पनि निर्वाचनमा आफ्ना पक्षमा माहौल तयारीकालागि अरुको आलोचना गर्ने प्रबृत्ति चाहिँ बढ्दो छ । कुनै कुनै दल अहिले पनि निर्वाचन भन्दा संसद पुनस्र्थापनाको पक्षमा जोड दिने गरेका भए पनि निर्वाचन लक्षित गतिबिधि पनि एकै साथ अघि बढाएको देखिन्छ । तथापि सबै जसो दलले सम्बोधनका क्रममा अन्य कुनै न कुनै पार्टी तथा नेताका बारेमा आलोचना नगरेको भने बिरलै सुनिने गरेको छ । राजनीतिक दलले हिजोका दिनमा कस्ता प्रकारको गतिबिधि गरे भन्ने कुराका विषयमा जनताले नियालेकै हुन्छन् । सरकारले विगतमा गरेका कामका बारेमा पनि उनीहरु विज्ञ नै हुनुपर्छ ।
तसर्थ आफूले आगामी दिनमा कस्तो काम गर्ने भन्ने नीति र कामको खाका जनता सामु प्रस्तुत गरेर उनीहरुलाई विश्वासमा लिनु उपयुक्त हुनेछ । अरुको आलोचना भन्दा पनि जनताले कामका आधारमा कुनै पनि दलका बारेमा धारणा बनाउने भएका कारण कामकै विषयलाई केन्द्रविन्दूमा राखेर अघि बढ्नु नै उपयुक्त मान्न सकिने छ । अन्तिम मूल्यांकनकर्ता जनता नै रहेका कारण उनीहरुको मन जितेर अघि बढ्नुमा नै सफलता निहित रहने कुरामा शंका मान्नु नपर्ला ।