• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कुलदेवताको प्रसादको रुपमा टीकाखदा ग्रहण गरि ल्होछार मनाउनुस : घिसीङ 

कुलदेवताको प्रसादको रुपमा टीकाखदा ग्रहण गरि ल्होछार मनाउनुस : घिसीङ 
 न्यूज टुडे
राजविराज, १६ पुस ।
नेपाल तामाङ घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसीङले कुल देवताको प्रसादको रुपमा टीका खदा ग्रहण गरि पाँच दिनसम्म ल्होछार मनाउन आग्रह गरेका छन् । नेपाल तामाङ घेदुङ  सप्तरीद्वारा संचालित दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान अन्तर्गत सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ स्थित चौफालमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । 
पानस बत्ती बालेर पाँचौ दिनको कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि संघीय सदस्य घिसिङ । फोटो : न्यूज टुडे
 नेपाल तामाङ साँस्कृतिक घेदुङ एवम् सप्तरीका स्थानीय घेदुङको समन्वयमा संचालित अभियानको पाँचौ दिनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज घिसिङले ल्होछारको धार्मिक तथा साँस्कृतिक महत्व बारे चर्चा गर्दै मान्यजनको हातबाट पाँच दिनसम्म टीका खदा ग्रहण गरि ल्होछार मनाउन आग्रह गरे ।
‘ल्होछारको अघिल्लो दिन ( औशी)को साँझ परिवारमा खानापिन सकेर चोखो निधो गरि पुरानो बर्षलाई विदा गर्दै घरमुलीले कुवेरको पूजा गर्नु पर्छ’ यो पूजा गर्दा बर्षभरी कमाएको धनको संरक्षण हुने र सह बस्ने धार्मिक विश्वास रहदै आएको छ’ उनले भने, ‘तिथि अनुसार माघशुक्ल प्रतिपदाको दिन सोनाम ल्होछार पर्ने हुँदा त्यस दिन विहान नयाँ बर्षको स्वागतमा घरघरमा शान्तिको झण्डा फहराउँदै कुल देवतालाई खदा, अक्षता, फलफुल चढाएर पूजा गरिन्छ र घरमुलीको हातबाट कुलदेवतालाई चढाइएको अक्षता, टोटलाको फुलको टीका थापी खदा प्रसादको रुपमा ग्रहण गरि टीका प्रारम्भ गर्नुपर्छ ।’
पाँच दिन सम्म आफ्ना माइतीमामली गएर टीका खदा ग्रहण गरि आर्शिवद थापेर ल्होछार मनाउँदा बर्षभरी घरपरिवारमा सुख, शान्ति, समृद्धि हुने,आफुले भाकेको सबै मनकामना पूरा हुने ल्होछार पर्वको धार्मिक विश्वास रहेको उनले बताए । 
आफ्नो घरपरिवारको भलो चिताउने सबैले धार्मिक विधि अनुसार तामाङले ल्होछार मनाउनु अपरिहार्य रहेको बताउँदै उनले यस्तो गर्दा सदबुद्वी पलाउने भएकोले आर्थिक रुपमा सबल गराउने तथा तामाङ धर्म संस्कृतिलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । 
प्रमुख अतिथि संघीय सदस्य घिसिङले अभियान उदाहरणीय रहेको भन्दै प्रशंसा  गरे ।  उनले घेदुङले लिएको नीतिलाई कार्यान्वयन गर्न घरघरमा ल्होछारको औचित्यता पुष्टि गर्न अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले यसबाट पाठ सिकेर सबै जिल्ला तथा स्थानीय तहले मुलुक भरी अभियान संचालन गर्नुपर्नेमा जोड दिए ।
 
नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जनले तामाङ समुदायको अधिकार सुनिश्चितताको लागि एकजुट हुनुको विकल्प नरहेको बताए । आशिष प्रेस विटेरियन चर्च चौफालका एल्डर भिम राईले अभियान संचालन गरेकोमा खुशी व्यक्त गर्दै तामाङ समुदायको धर्म, संस्कृति जगेर्नामा मदत पुग्ने बताए । 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा सहजीकरण तथा संचालित पाँचौ दिनको अभियानमा स्वागत नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ की वडाध्यक्ष सरस्वती गोलेले गरिन भने  ल्होछारको महत्त्व र अभियानको उदेश्य बारे नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले प्रकाश पारे । 
नेपाल तामाङ घेदुङ अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल तामाङ घेदुङ मधेस प्रदेश समिति सदस्य अशोक योन्जन, नेपाल तामाङ घेदुङ सप्तरीका सचिब डिक बहादुर मोक्तान, सदस्य राम बहादुर योन्जन, मान बहादुर योन्जन,  लगुमाया न्यासुर, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङ,रुपनीकी अध्यक्ष  भद्र  कुमारी लामा, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका, पूर्व अध्यक्ष  सन्जमान तामाङ लगायत राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरुको सहभागिता रहेको थियो । 
अभियान अन्तर्गत ल्होछार पर्वको महत्त्व, विशेषता, आवश्यकता तथा यसको समाजिक मुल्यमान्यता बारे विचार आदानप्रदान तथा गीत संगीतबाट जनजागरण गराइने नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । 
२८६२ औं सोनाम (ता) ल्होछार यसबर्ष माघ ५ गते परेकोले यसको प्रचारप्रसार तथा ल्होछार मान्ने तरीका बारे जानकारी गराउने र तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्वन र प्रबर्द्धन गर्दै यसको जगेर्नाका लागि जागरूक गराउन सहयोग पुर्‍याउने अभियानको उदेश्य रहेको नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङले जानकारी दिए । 
साङ्ग छोइलिङ्ग गुम्वा फत्तेपुरबाट पुस ८ गतेदेखि सुरु भएको अभियान कञ्चनरुप नगरपालिका ५ स्थित  पिप्रापूर्व,  अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ मोहनपुर, रुपनी गाउँपालिका ६  नयाँबस्तीमा सम्पन्न भइसकेको तथा अन्य सप्तरीका तामाङ बसोबास भएको सबै स्थानीय तहहरुमा संचालन गरि पुस २१ गते सप्तरी सदरमुकाम राजविराज पुगेर समापन गरिने उनले बताए ।