न्यूज टुडे
राजविराज, १५ पुस ।
नेपाल तामाङ घेदुङ सप्तरीद्वारा संचालित दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान मंगलबार रुपनी गाउँपालिका ६ स्थित नयाँबस्ती पुगेको छ । नेपाल तामाङ साँस्कृतिक घेदुङ एवम् सप्तरीका स्थानीय घेदुङको समन्वयमा संचालित अभियानको चौथो दिन सप्तरीको रुपनी गाउँपालिका पुगेको हो ।
नेपाल तामाङ घेदुङ रुपनी गाउँपालिकाका अध्यक्ष भद्र कुमारी सिंदन तामाङको अध्यक्षता तथा नेपाल तामाङ संघीय घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसिङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय सदस्य घिसिङले शुभकामना मन्तव्य व्यक्त गर्दै अभियान उदाहरणीय रहेको भन्दै प्रशंसा गरे । उनले घेदुङले लिएको नीतिलाई कार्यान्वयन गर्न घरघरमा ल्होछारको औचित्यता पुष्टि गर्न अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे।
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित चौथो दिनको अभियानमा स्वागत नेपाल तामाङ घेदुङ मधेस प्रदेश सदस्य अशोक कुमार योन्जनले गरे भने कार्यक्रमको उदेश्य तथा ल्होछार पर्वको महत्त्व बारे नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले प्रकाश पारे ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ सप्तरीका सचिब डिक बहादुर मोक्तान, सदस्य राम बहादुर योन्जन, सीता कुमारी बम्जन, लगुमाया न्यासुर, नेपाल तामाङ साँस्कृतिक घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर लो, नेपाल तामाङ युवा घेदुङ सप्तरीका अध्यक्ष नवराज योन्जन, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लो,, पूर्व अध्यक्ष सन्जमान तामाङ, वडा नम्बर २ का वडाध्यक्ष सरस्वती गोले तामाङ लगायत राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरुको सहभागिता रहेको थियो ।
अभियान अन्तर्गत ल्होछार पर्वको महत्त्व, विशेषता, आवश्यकता तथा यसको समाजिक मुल्यमान्यता बारे विचार आदानप्रदान तथा गीत संगीतबाट जनजागरण गराइने नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।
२८६२ औं सोनाम (ता) ल्होछार यसबर्ष माघ ५ गते परेकोले यसको प्रचारप्रसार तथा ल्होछार मान्ने तरीका बारे जानकारी गराउने र तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्वन र प्रबर्द्धन गर्दै यसको जगेर्नाका लागि जागरूक गराउन सहयोग पुर्याउने अभियानको उदेश्य रहेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।
साङ्ग छोइलिङ्ग गुम्वा फत्तेपुरबाट सुरु भएको अभियान सप्तरीका तामाङ बसोबास भएको सबै स्थानीय तहहरुमा संचालन गरि पुस २१ गते सप्तरी सदरमुकाम राजविराज पुगेर समापन गरिने नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान सिंदनले बताए ।