• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

शीतलहरले अत्यधिक जाडो बढेपछि सप्तकोशीका विद्यालयहरू पाँच दिन बिदा

शीतलहरले अत्यधिक जाडो बढेपछि सप्तकोशीका विद्यालयहरू पाँच दिन बिदा
शिवप्रसाद आचार्य 
फत्तेपुर, १५ पुस ।
सप्तरीको सप्तकोशी नगरपालिकाले शीतलहरका कारण अत्यधिक जाडो बढेपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूको नियमित पठनपाठन पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।  नगर कार्यपालिकाको मंगलबार बसेको बैठक पुस १६ गतेदेखि २१ गते सम्म विद्यालय विदा दिने निर्णय गरेको हो । 
सप्तकोशी नगरपालिकाले एक सूचना जारी गर्दै विगत केहि दिनदेखि बढ्दो चिसो र शीतलहरका कारण बालबालिकाहरुमा हुन सक्ने स्वास्थ्य सम्बन्धि जोखिमलाई मध्य नजर गरि अगामी चार दिनका लागि नगरपालिका भरिका सम्पूर्ण विद्यालय बिदा दिइएको जनाएको छ । 
शिक्षा अधिकृत जय प्रकाश आनन्द चौधरीले जारी गरेको सूचनामा भनिएको छ ‘यही पुस १६ देखि २० गतेसम्मका लागि विद्यालय बन्द रहने छ । हिउँदे तथा वर्षे विदावाट कट्टा हुने गरी जाडो विदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सप्तरीमा पछिल्लो केही दिनदेखि शीतलहर र हुस्सुका कारण जनजीवनमा ठूलो असर परेको छ। बिहान बेलुका हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध र चौपाया जनावरहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको छ ।
विभिन्न स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ, र अस्पतालहरूले चिसोका कारण विभिन्न स्वास्थ्य समस्याहरूको उपचार गर्न विशेष ध्यान दिन थालेका छन् । अस्पतालहरूले निम्न तापमानमा स्वास्थ्यको अवस्था खराब हुने, जाडोको लक्षण देखिने र  श्वासप्रश्वस प्रणालीमा समस्या आउने जस्ता संकेतहरू पहिचान गर्न आग्रह गरेका छन्।
सप्तरी सहित तराई–मधेस क्षेत्रमा चिसो हावाले जनजीवन प्रभावित बनाएको छ । यस्तो मौसमले विशेषगरी बालबालिका र वृद्ध नागरिकमा स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्ने चिकित्सकहरु बताउँछन् । 
स्वास्थ्य अधिकारीहरूले शीतलहर र हुस्सुको असरबाट बच्न तातो कपडा लगाउन, पर्याप्त पोषण लिन र चिसो मौसममा स्वास्थ्यलाई ध्यानमा राखेर हिँडडुल गर्न सुझाव दिएका छन् ।