न्यूज टुडे
राजविराज,१३ पुस ।
सप्तरी प्रहरले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । राजविराज- भारदहसडक खण्ड अन्तर्गत सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित तोपा बजारबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ बस्ने बर्ष ३७ का रजप आलम,सोही महानगरपालिका ४ का बर्ष ३२ को अनुरुध निरौला र सोही ठाउँका बर्ष २१ का निकेश कुमार शर्मा रहेका छन् । पक्राउ परेका मध्ये आलम कार चालक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विराटनगरबाट राजविराज तर्फ जाँदै गरेको प्र.१-०४-००१ज ००४५ नम्बरको कारमाथि शंका लागि चेक जाँच गर्दा निरौलाको हुडीबाट सेतो प्लास्टिकको २ वटा पोका ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ २०५ ग्राम ८२ मि.लि. ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
कारसहित पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइ रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।
यसैगरी विषादी खुवाइ कर्तव्य ज्यान कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । राजविराज नगरपालिका १ की बर्ष २५ की काजल देवी साफी पक्राउ परेका हुन।
सुरज मनिलाल साफीलाई विषादी खुवाइ कर्तव्य गरेको आरोपमा सप्तरी जिल्ला अदालत राजविराजबाट २०८२ बैशाख १९ गते पक्राउ गर्न अनुमति लिइ खोजतलास गर्दा फरार रहेकी उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजविराज १ चनौरा टोलबाट नियन्त्रणमा लिएको उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी सप्तरी जिल्ला अदालत राजविराजबाट सात दिनको म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।