• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
यतिबेला केराको मूल्य आकाशिएको छ । अघिल्लो दिन किनेको मूल्यमा भोलिपल्ट नपाईने अवस्था छ । थोक बजारमै प्रति दर्जन ५० रुपैयाँ भन्दा बढी मूल्यमा केरा बिक्री हुन थालेपछि उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् ।
उपभोक्ताको माग अनुसार आपूर्ति नभएका कारण केराको मूल्य आकाशिँदै गएको हो । असोजदेखि क्वारेण्टाईन तथा विषादि व्यवस्थापन केन्द्रले केरा आायतका लागि नयाँ प्रवेश अनुमतिपत्र जारी नगरेकाले माग अनुसार केराको आपूर्ति गर्न नसकिएको ब्यापारीहरुको कथन छ । केरामा देखापरेको ढुसीजनय रोगको नियन्त्रणका लागि केराको आयात रोकिएको उनीहरु बताउँछन् । बाहिरबाट आयातीत केराका कारण स्वदेशी उत्पादनले मूल्य नपाउँदा यहाँका केरा उत्पादक किसानहरु हतोत्साहित रहँदै आएका थिए । उनीहरुलाई सरकारी स्तरबाट प्रोत्साहन र संरक्षण दुवैको आवश्यकता त छ । तर व्यावहारिक रुपमा उनीहरुलाई प्रोत्साहन गर्न अहिले पनि धेरै गर्नु पर्ने बाँकी नै छ । स्वदेशी केराको लागि बजारको व्यवस्थापन मिलाउने, विचौलियाको चङ्गुरबाट किसानको संरक्षण गरी उचित मूल्य दिलाउने, केरा खेती गर्नेहरुका लागि सहुलियत तथा प्राविधिक सरसल्लाह लगायतमा ध्यान दिने हो भने मुलुक भरिको केराको मागलाई स्वदेशी उत्पादनले नै धेरै हदसम्म धान्न नसक्ने होईन । 
स्थानीय उत्पादनको बजारीकरण देखि उचित मूल्य दिलाउने सवालमा मात्रै पनि काम हुन सक्यो भने नेपालमा पनि केरा उत्पादनको सम्भाव्यता उज्जवल रहनेमा शंका मान्नु पर्दैन । यसप्रति सरकारले नै विशेष ध्यान पु¥याउन जरुरी छ ।