हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जिल्ला बीचको कमला नदीको पुल नबनेका कारण सर्वसाधारणले निकै सास्ती भोग्नु परिरहेको छ ।
पुल निर्माणको माग गर्दै यी दुई जिल्लाका जनताले कैयौं पटक आन्दोलनै गरे । तर पनि त्यसको निर्माणको कार्य अहिलेसम्म पूरा भएको छैन । पुल निर्माणको ठेक्का लिएर ठेकेदार कम्पनीले बीचमै काम छोडिदिने गरेका कारण सास्ती चाही जनताले खेप्नु परिरहेको छ । ठेक्का लागेको १४ वर्ष वित्दा समेत निर्माण हुन नसकेको उक्त पुलको केही साता अघि भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिंगले स्थलगत अवलोकन गरेका छन् । मत्रीले अवलोकन गरेर फर्किएपछि बल्ला त्यसको बाँकी काम अघि बढाईएको छ । आउँदो चैतभित्र निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिका अनुसार काम अघि बढेको छ । मन्त्री घिसिंगले काम सन्तोषजनक नभए ठेक्का तोड्ने सम्मको चेतावनी दिएपछि काम थालिएको त छ । तर बीचमै काम छोडेर बस्ने विगतको परिपाटी दोहोरियो भने चैतभित्रै काम सम्पन्न होला भनेर अहिल्यै यकीन गर्न सकिन्न । तराईको लाइफलाईनकै रुपमा हेरिएको हुलाकी सडक पूर्ण सञ्चालनमा आउँदा यस भेगका जनताको जीवनस्तरमै परिवर्तन आउन सक्छ । बाटोघाटोको समस्या झेलिरहेका जनतालाई राहत दिन हुलाकी राजमार्गको बाँकी कामलाई शिघ्रपूर्णता दिनुपर्ने आवश्यकता त छ नै ।
यसै अन्तर्गतको कमला पुलको निर्माण कार्य सम्पन्न भईदिए सप्तरी, सिरहा, धनुषाबासीलाई प्रदेशको राजधानी जनकपुरसम्म जान धेरै सुगमता हुने भएकोले निर्धारित मितिभित्रै यसलाई सम्पन्न गराउने तर्फ ध्यान दिन आवश्यक छ ।