एक जनाले हिन्दू धर्मका बिरुद्धमा नकारात्मक टिप्पणी गर्दा त्यसको बिरोधमा शुक्रबार राजविराज बन्द नै भयो । हिन्दू सम्राट सेना र बजरंग दलको आह्वानमा जिल्ला सदरमुकाम दिनभरि ठप्प रहनाले यसबाट जनजीवन प्रभावित बन्न पुग्यो ।
सरकारी कार्यालय, व्यापार व्यवसाय सबै ठप्प रहेका कारण यसले कुनै न कुनै रुपमा क्षति पुर्याएको छ । पछि त्यस्तो आपत्तिजनक टिप्पणी गर्ने व्यक्तिले सार्वजनिक रुपमा माफी मागेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । विविध जातजाती, भाषाभाषी, धर्माबलम्बीको बसोबास रहेको मुलुकमा कसैको प्रति अनास्था जगाउने खालका टिकाटिप्पणी गरिनुलाई उचित मान्न सकिँदैन । अरुको आस्थामाथि चोट पुर्याउने खालका गतिबिधि गर्ने हो भने यसले आपसी फूट,मनोमालिन्य र द्वेष बढाउने हुन्छ । मुलुक सबै जातजाती भाषाभाषी तथा धार्मिक आस्था राख्नेहरुको साझा बासस्थल रहेका कारण कसै प्रति अनास्था फैलाउनु शोभनीय हुन सक्दैन । एकले अर्कामाथि सद्भाव तथा सम्मानको भावना कायम गर्न सकियो भने हामी वीचको एकता अझ सुदृढ भएर जाने हुन्छ । आपसी फूट कमजोरीको कारक हुन सक्छ भन्ने कुरालाई बिर्सन मिल्दैन । भाइ फूटे गँवार लुटे भनेर त्यसै भनिएको होईन ।
तसर्थ सकेसम्म आपसको सम्बन्धलाई कसरी प्रगाढ तुल्याउन सकिन्छ भन्ने कुरा गर्नु उत्तम हो । अरुको भावना तथा आस्थामाथि प्रहार गर्ने खालका अभिव्यक्तिले सम्बन्धमा नै खलल पुर्याउने भएका कारण यस प्रकारका गतिबिधि नहोस् भन्नेमा साबधानी अपनाउन आवश्यक रहन्छ । आपसको एकताले राष्ट्रियतालाई पनि बलियो बनाउने भएका कारण फूट होईन जुटेर अघि बढ्नु श्रेयष्कर हुनेछ ।