न्यूज टुडे
राजविराज,१२ पुस ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित प्रस्तावित माध्यमिक विद्यालय बनैनियाँमा भएको रेट्रो फिटीङ्ग शिर्षकको १५ लाख रुपैयाँको अनियमितताले हाल विद्यालयमा हलचल ल्याएको छ । अवकाश प्राप्त प्रधानाध्यापक सुभाष चन्द्र दासले भुकम्पीय विपद( रेट्रो फिटिङ्ग) शिर्षकको बजेट अनियमित खर्च गरेको विषयले विद्यालयमा हलचल ल्याएको हो ।
विद्यालयका प्रधानाध्यापक प्रयागलाल यादव सोही विषयलाई लिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यदेव यादवले अनावश्यक दवाव तथा अपमान गरेपछि उनले प्रधानाध्यापक पद त्याग गर्छु, तर गलत काम गर्दिन भनेपछि प्रअ विवाद उत्कर्षमा पुगेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दवाव सहन नसकेपछि प्रअ यादवले राजिनामा दिएको श्रोतको दावी छ । श्रोतका अनुसार कामै नभएको उक्त बजेट काम सम्पन्न भएको भनी व्यवस्थापन समितिको बैठकबाट निर्णय गराउन अध्यक्ष यादवले दवाव दिदै आएको छन् ।
विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक यादवको राजिनामा स्वीकृत गरी सबैभन्दा जुनियर प्रवि शिक्षक असर्फी यादवलाई प्रधानाध्यापक नियुक्त गर्ने निर्णयसहित गाउँपालिकामा निवेदन दिएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले प्रअ प्रयागलाललाई आफुले कुनै प्रकारको अपमान र दवाव दिएको आरोप निरधार रहेको बताए ।
‘प्रधानाध्यापक यादवले घरको समस्या देखाउँदै प्रधानाध्यापक पदबाट राजिनामा दिनुभयो’ अध्यक्ष यादवले भने, राजिनामा फिर्ता गर्न पटकपटक आग्रह गरेँ, आठ दिन सम्म पर्खिएँ तर वहाले मेरो अनुरोधलाई स्वीकार गर्नुभएन, वहाले राजीखुशी राजिनामा दिएको हो, गलत निर्णय गर्न भनी दवाव दिएको र अपमान गरेको आरोपमा सत्यता छैन । ‘
अध्यक्ष यादवले अवकास प्राप्त प्रधानाध्यापक दासले उक्त शिर्षकको रकमबाट निजी श्रोतका शिक्षकलाई १० लाख ७० हजार तलव भुक्तानी गरेको बैक स्टेटमेण्डबाट खुलेको बताए । उक्त शिर्षकको रकम तलव खुवाउने निर्णय विद्यालय व्यवस्थापन समितिले नगरेको उनको दावी छ ।
यस विषयमा प्रधानाध्यापक यादवले फोनमा सबै कुरा गर्नुभन्दा भेटेरै सत्यतथ्य बताउने भन्दै कुनै प्रतिक्रिया दिन चाहेन ।
पूर्व प्रधानाध्यापक दासले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सबैको सहमतिमा उक्त रकम निजी श्रोतका शिक्षकलाई तलब बापत भुक्तानी गरेको स्वीकार गरे । उनले विद्यालयको कुनैपनि बजेट आफुले अनियमितता नगरेको भन्दै विद्यालयमा आएको रकम व्यक्तिगत खर्च नगरी विद्यालयमै खर्च गरेको जिकिर गरे ।
उनको रेट्रो फिटिङ शिर्षकमा आएको अन्य बाँकी रकम विद्यालयको खातामै रहेको जानकारी दिए । उनले विद्यालयामा व्याप्त राजनीतिकारणले विद्यालयमा समस्या आएको बताए ।