• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आलमले माफी मागेपछि आन्दोलन स्थगित
न्यूज टुडे
राजविराज, ११ पुस ।
हिन्दु धर्म विरुद्ध आपत्तिजनक टिप्पणी गर्ने अफरोज आलमले सार्वजनिक रुपमा माफी मागेपछि  हिन्दु सम्राट सेना तथा बजरङ्ग दलद्वारा जारी सम्पुर्ण संघर्षका कार्यक्रम स्थगित गरेको छ ।  जिल्ला प्रशासन कार्यालय सप्तरीमा शुक्रबार भएको बार्तामा आलमले सार्वजनिक रुपमा माफी मागेपछि हिन्दु सम्राट सेना सप्तरी र बजरङ्ग दल सप्तरीद्वारा जारी आन्दोलन स्थगित गरेको हो । 
आलमलाई सार्वजनिक रुपमा माफी मगाउने, जारी आन्दोलनका सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित गर्ने, कसैको धर्म संस्कृतिलाई आघात पुर्याउने टिक्का टिप्पणी सामाजिक संजाल वा कुनैपनि माध्यमबाट नगर्ने तथा यस्तो गरिएको पाइएमा कानूनी कारबाहीमा जाने लगायतका विभिन्न निर्णय पछि आन्दोलन स्थगित गरिएको हिन्दु सम्राट सेना सप्तरीका अध्यक्ष सुरेन्द्र दासले बताए ।
आलमले सिडिओ कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा माफी माँगेको उनले जानकारी दिए । 
आलमलाई कारबाहीको माग गर्दै हिन्दु सम्राट सेना तथा बजरङ्ग दलले बिहीवार राजविराजको मुख्य चौक र सडकमा टायर बालेर दिनको १ बजेदेखि ५ बजेसम्म विरोध प्रदर्शन गरेका थिए । 
‘आलमलाई कानूनी कारबाही गर, दोषीलाई कारबाही गर, जय श्रीराम्, हिन्दु एकता जिन्दावाद, अफरोज आलम मुर्दावाद’ सहितको चर्को नारा लगाउदै नेता चौक, गजेन्द्र चौक हनुमान मन्दिर, सिडिओ र जिल्ला प्रहरी कार्यालय अगाडि लगायतका मुख्य सडकमा प्रहरी प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए । 
हिन्दु देवी देउताको बारेमा सामाजिक संजालमा गलत टिप्पणी गर्ने आलमलाई कारबाहीको माग गर्दै हिन्दु सम्राट सेना, बजरङ्ग दल तथा विभिन्न हिन्दुवादी संघसंस्थाद्वारा् शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा आम हडतालको आव्हान गरेका थिए । 
उनीहरुले शुक्रबार विहान देखि बजार, पसल, यातायात, कलकारखाना, विद्यालय, सरकारी कार्यालय बन्द गराउँदै सडकमा टायर बालेर विरोध तथा मोटरसाइकल र्‍याली प्रदर्शन गरेका थिए । 
राजविराज नगरपालिका १ रहमतपुर निवासी आलमले श्रीकृष्ण प्रति लक्षित गरि सामाजिक संजाल मार्फत अत्यन्तै अश्लील,अपमानजनक,र घृणायुक्त अभिव्यक्ति दिएको बजरङ्ग दल र  हिन्दु सम्राट सेनाको आरोप छ ।