सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ५ बकधुवामा लघुउद्यम सम्बन्धि १० दिने तालिम संचालन गरिएको छ । महुली लघुवित्त वित्तीय संस्था महुली शाखाको आयोजना तथा महुली बाँस प्रवर्द्धन श्रोत केन्द्र बकधुवाको समन्वयमा शुक्रबारदेखि १० दिवसीय तालिम संचालन गरिएको हो ।
महुली बाँस प्रवर्द्धन श्रोत केन्द्र बकधुवाक्री प्रोप्राइटर जनक कुमारी चौधरीको अध्यक्षतामा आयोजित तालिमको प्रमुख अतिथि घरेलु तथा साना उधोग कार्यालय सप्तरीकी उधोग अधिकृत रेखा कुमारी यादव र विशिष्ट अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरिन ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि उधोग अधिकृत यादवले तालिमले आत्मा निर्भर बनाउने भन्दै तालिम आयोजकलाई धन्यवाद व्यक्त गरिन । जिल्लामा धेरै तालिमहरु आयोजना भएपनि उपलब्धि भने शुन्य रहेको उल्लेख गर्दै उनले तालिममा सहभागीहरुले उधमी बन्ने अग्रसरता देखाउनमा कमी भएको बताइन् ।
तालिममा सीप सिकेकाहरुले उधोग दर्ता लगायतकामा चासो नदिंदा तालिमले सार्थकता नपाएको बताउँदै उनले उधमी बन्न उत्सुकता देखाउने सहभागीहरुलाई आधरभूत प्रविधि र उपकरणको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
अग्नीसाईर कृष्णासवरन गाउँपालिकाकी कार्यबाहक अध्यक्ष कल्पना कुमारी चौधरीले तालिमले महिला सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरिन । सीपले सम्पन्नता हुन मद्दत पुग्ने भएकोले तालिममा सक्रिय सहभागिता जनाउन आग्रह गरिन । तालिमबाट आफुले सिकेको सीप आफनै लागि उपयोगी हुने बताउँदै उनले सामुहिक रुपमा उधम गर्न चाहनेहरुलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।।
महुली लघुवित्तका संस्थापक अध्यक्ष एवम् महुली सामुदायिक विकास केन्द्र तथा बाँस श्रोत केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले महिलाहरुलाई उधमी बनाएर रोजगारी सिर्जना गर्ने उदेश्यले तालिम आयोजना गरेको बताए । उनले लघुवित्तले तीनसय जनालाई रोजगारी प्रदान गरेको जानकारी दिदै बाँस प्रवर्द्धन श्रोत केन्द्रले हाल १० जनालाई रोजगारी दिइरहेको तथा आगामी तीन बर्षमा ५० जनालाई रोजगारी दिने लक्ष्य राखी अगाडि बढेकोले सरोकारवालाहरुलाई सहयोगका लागि आग्रह गरे ।
महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले तालिमलाई गम्भीरता पूर्वक लिनुपर्नेमा जोड दिए । उनले तालिमले वित्तीय संस्था प्रति बढ्दै गएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक संदेश प्रवाह हुने बताए ।
लघुवित्तका कर्जा प्रमुख रुसियन चौधरीले उधम गर्न सक्षम तालिम प्राप्त उधमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
महुली लघुवित्त वित्तीय संस्थाका तालिम विभाग प्रमुख गुणराज ढकालद्वारा संचालित कार्यक्रममा स्वागत महुली शाखा प्रबन्धक दिलिप कुमार चौधरीले गरे ।
लघुवित्तमा आवद्ध १५ जना महिला सहभागी तालिमको सहजीकरण अशोक कुमार चौधरी र भुपेन्द्र प्रसाद चौधरीले गर्ने आयोजकले जनाएको छ ।