उत्तम आचार्य
कन्चनरुप , ११ पुस ।
सर्पदंशबाट मृत्यु भएकी सप्तरीको अग्नीसाइर कृष्णासरन गाउँपालिका–६ मोहनपुरकी संगीता राईको परिवारले दुई लाख सहयोग पाएको छ । दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति बापतको उक्त राहत रकम उनको परिवारलाई उपलब्ध गराएको हो ।
स्वर्गीय राईले कृषि तथा पशु पन्छी विमा अन्तर्गत पर्ने भैँसी बीमा गराएकी थिइन्। सोही पशु बीमा अन्तर्गत पशुधनीको स्वतः दुर्घटना बीमा हुने प्रावधान अनुसार उनको मृत्यु भएपछि परिवारले बीमा क्षतिपूर्ति प्राप्त गर्ने
सहयोग रकम प्रदान गरिएको इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
बीमा दाबी प्रक्रिया पूरा भएपछि बिहीवार ओरिएन्टल इन्स्योरेन्स कम्पनीका अभिकर्ता प्रकाश आचार्यले एक कार्यक्रमका बीच मृतक राईको परिवारलाई विमा दाबी फर्छ्यौट हस्तान्तरण गरे ।
उनले बीमाले पशु धन मात्र नभइ पशु धनीको आकस्मिक तथा दुःखद घटनामा पीडित परिवारलाई आर्थिक राहत पुर्याउने गरेको बताए ।
शोकमा परेको परिवारलाई उक्त रकमले केही हदसम्म राहत मिल्ने विश्वास गरिएको छ । स्थानीयवासीहरूले यस्ता बीमा योजना स्थानीय सरकारले व्यापक प्रचार प्रसार तथा जनचेतना बढाउनुपर्नेमा जोड दिएका छन्।
गत साउन ७ गते साँझ भैँसीलाई गोठमा घाँस हाल्न जाने क्रममा राईलाई विषालु सर्पले टोकेको थियो। गम्भीर अवस्थामा उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिए पनि उपचारकै क्रममा सोही साँझ ८ बजे उनको मृत्यु भएको थियो।