• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान कञ्चनरुपको पिप्रामा 

दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान कञ्चनरुपको पिप्रामा 
न्यूज टुडे
राजविराज, ०८ पुस ।
नेपाल तामाङ घेदुङ सप्तरीद्वारा संचालित दोश्रो जिल्ला स्तरीय ल्होछार जागरण तथा साँस्कृतिक अभियान मंगलबार कञ्चनरुप नगरपालिका ५ स्थित प्रिपा गाउँमा पुगेको छ  । नेपाल तामाङ साँस्कृतिक घेदुङ एवम् सप्तरीका स्थानीय घेदुङको समन्वयमा संचालित अभियानको दोश्रो दिन सप्तरीको कञ्चनरुप नगरपालिकामा आइ पुगेको हो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संघीय सदस्य घिसिङ । फोटो : न्यूज टुडे
नेपाल तामाङ घेदुङ कञ्चनरुप नगरपालिकाका अध्यक्ष चतुमान तामाङको अध्यक्षता तथा  नेपाल तामाङ संघीय घेदुङका संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भिम बहादुर घिसिङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि संघीय सदस्य घिसिङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशका महासचिव बृजमान तामाङले  शुभकामना मन्तव्य व्यक्त गर्दै अभियान उदाहरणीय रहेको भन्दै प्रशंसा  गरे ।  उनीहरुले घेदुङले लिएको नीतिलाई कार्यान्वयन गर्न घरघरमा ल्होछारको औचित्यता पुष्टि गर्न अभियानले टेवा पुग्ने विश्वास व्यक्त गरे। 
नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङद्वारा संचालित दोश्रो दिनको अभियानमा स्वागत नेपाल तामाङ घेदुङ कञ्चनरुप नगरपालिकाका पूर्व अध्यक्ष गोपाल घिसिङले  गरे भने  कार्यक्रमको उदेश्य बारे स्थानीय लामा दान बहादुर घिसिङ तामाङले प्रकाश पारे । 
कार्यक्रममा नेपाल तामाङ घेदुङ मधेस प्रदेश समिति सदस्य अशोक योन्जन, नेपाल तामाङ घेदुङ सप्तरीका उपाध्यक्ष जनक बम्जन, सह सचिब तिर्थ बहादुर मोक्तान, सदस्य राम बहादुर योन्जन, पूर्व उपाध्यक्ष शम्शेर पाख्रीन, पूर्व सह सचिब दिल बहादुर मोक्तान,, रुपनीकी अध्यक्ष  भद्र  कुमारी लामा, अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका, पूर्व अध्यक्ष  सन्जमान तामाङ, कन्चरुप नगरपालिकाका  उपाध्यक्ष लाक्पा तामाङलगायत राष्ट्रिय तथा स्थानीय तामाङ कलाकारहरुको सहभागिता रहेको थियो । 
अभियान अन्तर्गत ल्होछार पर्वको महत्त्व, विशेषता, आवश्यकता तथा यसको समाजिक मुल्यमान्यता बारे विचार आदानप्रदान तथा गीत संगीतबाट जनजागरण गराउने नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । 
२८६२ औं सोनाम (ता) ल्होछार यसबर्ष माघ ५ गते परेकोले यसको प्रचारप्रसार तथा ल्होछार मान्ने तरीका बारे जानकारी गराउने र तामाङ समुदायको भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्वन र प्रबर्द्धन गर्दै यसको जगेर्नाका लागि जागरूक गराउन सहयोग पुर्‍याउने अभियानको उदेश्य रहेको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव डिक बहादुर मोक्तानले जानकारी दिए । 
साङ्ग छोइलिङ्ग गुम्वा फत्तेपुरबाट सुरु भएको अभियान सप्तरीका तामाङ बसोबास भएको सबै स्थानीय तहहरुमा संचालन गरि पुस २१ गते सप्तरी सदरमुकाम राजविराज पुगेर समापन गरिने उनले बताए ।