न्यूज टुडे
राजविराज,०७ पुस ।
नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् पूर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले मधेसलाई प्रयोगशाला बनाउने खेल जारी रहेको बताएका छन् । सामाजिक संजालमा सोमबार स्टाटस लेख्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी बाहेक सबै प्रमुख दलले मुख्यमन्त्री, सभामुख पाएपनि अपेक्षित उपलब्धि भने अझै अधुरो रहेको उल्लेख गरेका छन् ।
‘बिक्रम सम्वत २०७९ को निर्वाचन पछि मधेस प्रदेशले ४ वटा मुख्यमन्त्री पाइसकेको छ।’ उनले भने,’दुई वटा सभामुख पनि दलगत हिसाबले चयन गरिएको छ, उनले थपेका छन्,’अहिलेको नेपाली कम्युनिस्ट पार्टी बाहेकका मुख्य दलहरूले मुख्यमन्त्रीमा नाम लेखाउन सफल भएका छन् ।’
उनले दलहरुको दुषित सोच प्रलोभन र महत्वाकांक्षी जमघट र जकडिएको कर्मचारी तन्त्रले मधेसलाई प्रयोगशाला बनाउने खेलमा मात्र सिमित राखेको टिप्पणी गरेका छन् ।
‘थुप्रै समस्या ,जटिलता तथा साधन ,श्रोत मात्रै होइन की कानूनको अभावले तथा जब्बर कर्मचारीतन्त्रको समस्या संगसंगै सरकारमा पुग्नै पर्ने र मालदार मन्त्रालयको मालको लागि जस्तोसुकै काम गर्ने राजनीतिक ब्यक्तिको महत्वाकांक्षीको जमघटले पार्दै आएको असरहरुको निरंतरता’ उनले कारणको रुपमा उल्लेख गरेका छन् ।
‘यो सरकारले मधेसको समस्या लाई केन्द्र बिन्दुमा राखेर योजना अगाडि ल्याउँछन की ? भागवण्डाको काम गर्छन् ,हेर्न बाकी छ।’ उनले उल्लेख गरेका छन्
मन्त्री यादवले बर्तमान सरकारको निरन्तरतामा समेत प्रश्न उठाउँदै यसको स्थायीत्व दलहरुको पछिल्लो गतिविधिबाट स्पष्ट हुने बताएका छन् ।
प्रतिपक्ष बिनाको यो सरकारलाई अप्ठ्यारो त नहुनु पर्ने हो’ उनले अगाडि उल्लेख गरेका छन्, ‘तर निकट भविस्यमा हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनलाई केन्द्रबिन्दुलाई ध्यानमा राखेर भएको गठबन्धन ,नेकपा ( एमाले ) ले गरेको समर्थन तथा नेकपा ( एमाले ) को राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्यमा सहकार्य गरेर जाने बिन्ती गर्नेहरूको अदृष्य गठजोडले समीकरणमा कतिबेला हेरफेर ल्याउला वा न ल्याउला ? त्यो त राष्ट्रियसभाको निर्वाचनले धेरै कुराको निर्धारण गर्ला ।’
अन्त्यमा नेता यादवले नवनियुक्त मुख्यमन्त्री एबम सम्पुर्ण मन्त्रीहरु तथा नवनिर्वाचित सभामुखलाई सफल कार्यकालको शुभकामना दिएका छन् ।